फोर्स भएमात्रै वाणिज्य बैंकसँग मर्जमा जाने सिटिजन्स बैंकको रणनीति, उग्र भएर सिस्टमलाई दुःख दिँदैनौं: सीइओ पोखरेल



हाम्रो सञ्चालक समितिले विकास बैंक र फाइनान्स कम्पनीलाई एक्वायर गर्ने र विदेशी साझेदार भित्र्याउने रणनीति बनाएको छ । बैंक सोही रणनीति अनुसार नै अघि बढिरहेको छ । हामी हाम्रो पहिचानलाई कायम राखेर अघि बढ्छौं । तर, सरकारले फोर्स मर्जरको नीति लियो भने त हामी पनि अर्को वाणिज्य बैंकसँग मर्जरमा जानै पर्यो । होइन भने हामी वाणिज्य बैंकसँग मर्जरमा जाने पक्षमा छैनौं । अहिलेसम्म वाणिज्य बैंकसँगै मर्जरमा जानुपर्ने बाध्यता हामीले फिल गरेका छैनौं । हाम्रा प्रवद्र्धकहरु सिटिजन्स बैंकको नाम गुमाउन चाहनुहुन्न ।

हामी थोरै खाने, मिठो खाने र आनन्दसँग खाने सिद्दान्तमा छौं ।

हामीलाई ठूलो हुनुपर्छ भन्दा पनि स्वस्थ्य हुनुपर्छ भन्ने लाग्छ । सेयरधनीले आशा गरेको प्रतिफल दिनसक्ने हुनुपर्छ । स्केटहोल्डरहरुका आशा पूरा गर्नुपर्छ । रिटर्न अन इक्वीटी घट्नु हुँदैन । हामीलाई उग्र तरिकाले दौडिनु हुँदैन भन्ने लाग्छ । यो बिजनेश भनेको आजको भोलि कमाएर खाइहाल्ने बिजनेश होइन । पछि आउनेहरुका लागि पनि स्पेश राख्न सक्नुपर्छ ।

१३ वर्षअघि हामी ५६ करोड रुपैयाँको पुँजीमा स्थापना भएका हौं । अहिले बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ छ । हामी हाम्रो आवश्यकता अनुसारको पुँजी र बिजनेश बढाइरहेका छौं । र, अझैपनि बढाउँछौं । उग्र भएर सिस्टमलाई नै दुःख दिने ग्रोथ हामीलाई चाहिएको छैन । हामीलाई १७/१८ प्रतिशतको ग्रोथ भए पुग्छ ।

अब हामी टेक्नोलोजी बैंकिङलाई प्राथमिकताका साथ अघि बढाउँछौं । त्यसका लागि क्वालीफाइड मान्छेहरु भित्र्याएर रिसर्च गरिरहेका छौं ।

रणनीतिका साझेदारीका लागि हामीले प्रारम्भिक कुराकानी गरिरहेका छौं । सार्थक कुराकानी भएको छैन । अब ३/४ वटा विकास बैंक र फाइनान्स कम्पनी मर्ज गर्ने हाम्रो सोच छ । खासगरी १ र ७ नम्बर प्रदेशमा हामीले हाम्रो सञ्ञ्जाल विस्तार गर्नुपर्ने छ । त्यसैगरी, ४ र ५ नम्बर प्रदेशमा पनि हाम्रो उपस्थित ठीकठकै मात्रै छ । ब्राञ्च, बिजनेश र हेल्थ भएको संस्था पाए हामी मर्ज गर्छौं । अहिलेका लागि भने हामीले सहयोगी विकास बैंक मर्ज गर्दैछौं । डीडीएको अन्तिम चरणमा छ ।

हामीले यसअघि पनि ३ वटा संस्था लिइसकेका छौं । नेपाल हाउजिङ, प्रिमियर र पिपुल्स फाइनान्स लिइसकेका छौं । अरु कोही संस्था सिटिजन्स बैंकसँग मर्जरमा जान चाहनुहुन्छ भने यहाँको लोकप्रिय सञ्चार माध्यमबाट हामी आह्वान गर्छौं ।

हामी एबीसीबाट सँधै टाढै रहन्छौं । ए भनेको आफ्नो मान्छे, बी भनेको भनसुन र सी भनेको चाकडी/चाप्लुसी । यो बैंक एकदमै अग्रज व्यक्तित्वहरु बसेको बैंक हो । राजनसिंह भण्डारीजस्तो व्यक्ति अध्यक्ष हुनुहुन्छ । डा. शंकर शर्मा, कुलचन्द्र गौतम, बालकृष्ण प्रसाईं जस्ता व्यक्तित्वहरु बैंकसँग आवद्ध हुनुहुन्छ । उहाँहरु संस्थागत सुशासनको पाटोमा कम्प्रमाइज नै गर्नुहुन्न । उहाँहरुको सोच के छ भने सिटिजन्स बैंक सयौं वर्ष बाँच्नुपर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल