८ महिनामा १ खर्ब ऋणको भार बढ्यो, एक नेपालीको भागमा ३६,३९४ रुपैयाँ ऋण



काठमाडौं । नेपालीले तिनुपर्ने ऋण बढेको देखिएको छ । कात्तिक महिनासम्मको तथ्यांकको आधारमा एक नेपालीको भागमा औसतमा ३६ हजार ३९४ रुपैयाँ ऋण रहेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले तिनुपर्ने ऋणको रकम १० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । केन्द्रीय तथ्यांक विभागले अहिले नेपालको जनसंख्या २ करोड ९७ लाख ८५ हजार ४५३ जना भएको अनुमान गरेको छ । सो आधारमा प्रतिव्यक्ति नेपालीलाई लागेको ऋणभार ३६ हजार ३९४ रुपैयाँ रहेको छ ।

कुल ऋणमा सरकारले आन्तरिक तर्फ ४ खर्ब ५२ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी छ । विदेशी ऋण तर्फ ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

सरकारले चार महिनाको अवधीमा आन्तरिक तर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ ।

बैदेशिक ऋण तर्फ भने सरकारले २ अर्ब ३३ करोड रुपैयाँ सावा र ५५ करोड ५३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

गतवर्षको फागुन मसान्तसम्ममा नेपालले तिनुपर्ने ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रहेको थियो । ८ महिनाको अवधीमा १ खर्ब १० अर्ब रुपैयाँले नेपालीले तिनुपर्ने ऋण रकम बढेको छ । २०७५ असार मसान्तमा ९ खर्ब १६ अर्ब रुपैयाँ तिर्न बाँकी ऋण रहेको थियो ।

बैदेशिक अनुदान र ऋण बढ्यो

सरकारले प्राप्त गर्न बैदेशिक अनुदान र ऋण रकम चालु आर्थिक वर्षको चार महिनामा अघिल्लो वर्षको सोही अवधीको तुलनामा बढेको छ ।
अर्थमन्त्रालयले प्रकाशन गरेको चार कात्तिक मसान्तसम्मको विवरण अनुसार सरकारले १० अर्ब ७ करोड बैदेशिक अनुदान प्राप्त गरेको छ । अघिल्लो वर्ष यस्तो अनुदान ३ अर्ब ५४ करोड रुपैयाँ थियो ।

बैदेशिक ऋण तर्फ सरकारले २४ अर्ब ९५ करोड रुपैयाँ लिएको छ । अघिल्लो वर्षको चार महिनामा ११ अर्ब ३७ करोड रुपैयाँ बैदेशिक ऋण लिएको थियो ।


क्लिकमान्डु