६ भन्सारबाट निर्यात शुन्य
काठमाडौं । नेपालबाट निर्यात गरिने सामानको परिमाण पछिल्ला केही महिनायता वृद्धि भइरहेको सरकारी तथ्यांकले देखाउँदै आएको छ ।
तर केही भन्सार नाकाहरुबाट भने विगत केही महिनायता निर्यात शुन्य भएको पाइएको छ ।
मुलुकभर सञ्चालित २४ वटा भन्सार नाकामध्ये ६ वटा भन्सार नाकाबाट चालु आवको पहिलो ४ महिनामा निर्यात शुन्य भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसमा जलेश्वर, सर्लाही, जनकपुर, भद्रपुर, महेशपुर र सेती भन्सार हुन् ।
भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वस्तु तथा समान आयात निर्यातको तथ्यांकअनुसार यी ६ वटा भन्सार नाकाहरुबाट ४ महिनामा कुनै पनि नेपाली वस्तु तथा सामान निर्यात हुन नसकेको हो ।
सरकारले लक्ष्य अनुसारको राजश्व संकलनका लागि भन्सार नाकाहरुको स्तरोन्नती गरी जनशक्ति एवम् साधान र स्रोत उपलब्ध गराएको छ । आन्तरिक उत्पादन नबढ्न नसक्दा र उत्पादीत वस्तु तथा सामानको अन्तर्राष्ट्रिय माग नहुँदा ती भन्सार नाकाबाट निर्यात हुन नसकेको हो ।
विभागका अनुसार वीरगञ्ज भन्सार नाकाबाट निर्यात मात्रा बढी छ । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको पहिलो चौमासमा १० अर्ब ९७ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबरको वस्तु तथा समान निर्यात भएको हो ।
यस्तै दोस्रो स्थानमा बिराटनगर भन्सार नाकाबाट काक्तिक मसान्तसम्म १० अर्ब ७ करोड ३० लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सो अवधिमा ८ अर्ब ६४ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको हो ।