सागको पहिलो दिन नेपालको वर्चश्व, जित्यो १५ स्वर्ण
काठमाडौं । तेह्रो दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण पदक जितेको छ ।
तेक्वान्दो र कराँतेबाट ७–७ स्वर्ण र ट्रायथलनबाट १ वटा गरी १५ वटा स्वर्ण पदक जितेको हो ।
जसमध्ये कराँतेको काताबाट ३ स्वर्ण, फाइटबाट ४ स्वर्ण जितेको हो । कराँतेको काताबाट व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठ र महिला र पुरुषबाट १–१ स्वर्ण पदक जितेको हो ।
त्यस्तै, फाइटतर्फ ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङ, ८४ केजीभन्दा माथिको तौल समूहबाट विप्लवलाल श्रेष्ठ, महिलातर्फ ५५ केजीको समूहबाट अनु अधिकारी र ४५ केजीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै, तेक्वान्दोमा कमल श्रेष्ठ, सिना मादेन लिम्बु र पार्वती गुरुङले व्यवक्तिगत स्पर्धामा स्वर्ण जिते भने तेक्वान्दोमा व्यक्तिगततर्फ नै कला प्रदर्शनीबाट आयशा शाक्यले स्वर्ण जितिन । शाक्यले पुम्सेकै २९ वर्ष माथिको जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छन् । पुम्से विधाको महिला १७–२३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिना विजयी भए ।
त्यस्तै, २३ वर्षभन्दा माथिको उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन् ।
साथै ट्रायथलनको महिलातर्फ सोनी गुरुङले स्वर्ण जितेकी छन् ।