अन्तरप्रदेश हवाइ उडान गर्ने एयरलाइन्सलाई इन्धनमा सहुलियत दिने पर्यटनमन्त्रीको घोषणा




विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताएका छन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा बिराटनगरमा आयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौंको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिए ।

मन्त्री भट्टराईले विराटनगर विमानस्थलको १५०० मिटरबाट २५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौँसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको रहेको बताए ।
मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट बंगलादेशको शहीदपुर उडान चाँडै शुरु गर्ने सोचका साथ सरकारले आवश्यक गृहकार्य गरिरहेको उल्लेख गर्दै ठूलो जनसंख्यामा रहेका भारतीय पर्यटकलाई ध्यानमा राखेर बिराटनगरबाट दिल्ली र कलकत्ता उडान गर्नुपर्नेमा जोड दिए ।

उनले निजी क्षेत्रको सहकार्यमा विमानस्थलको सञ्चालन गर्ने नीति सरकारको छ भन्दै उद्यमीको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने हुनाले ढुक्कसाथ लगानी गर्न आव्हान गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय मंसिर महिनाभित्र गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिँदै विराटनगरबाट लुक्काका साथै हिमाली उडानमा सबैको सहयोग रहने बताए ।
उनले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र भएको प्रदेश नं १ मा यसको विकासबाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै तीव्रगतिमा आर्थिक विकासका लागि सबैसँग सहकार्य गर्ने धारणा व्यक्त गरे ।
विराटनगर विमानस्थलको हाल १५०० मिटर धावनमार्ग छ ।


क्लिकमान्डु