३२ करोड लगानीमा सिम्रिकले २ वटा हेलिकप्टर ल्याउँदै



काठमाडौं । सिम्रिक एयरले नेपाल भ्रमण वर्ष २०२० र रेक्युलाई लक्षित गरी थप २ वटा हेलिकप्टर ल्याउने भएको छ । योसँगै कम्पनीसँग ७ वटा हेलिकप्टर हुनेछन् ।

सिम्रिक एयरका महाप्रबन्धक प्रेम थापाले आगामी जनवरीको अन्त्यसम्ममा २ वटा हेलिकप्टर ल्याउने जानकारी दिए ।

‘नागरिक उड्डयन प्राधिकरणबाट अनुमति ५ महिना अघि नै पाएका हौं, कम्पनीसँग सम्झौता भइ जनवरी अन्त्यसम्ममा २ वटा हेलिकप्टर आइसक्छ’ थापाले क्लिकमाण्डूसँग भने ।

सिम्रिकले अमेरिकन कम्पनी बेल टेक्सट्रोनसँग ‘५०५ जेट रेञ्जर एक्स’ मोडेलका २ वटा हेलिकप्टर खरिद गर्न लागेको हो । थापाका अनुसार एउटा हेलिकप्टरको मूल्य १६ करोड रुपैयाँ पर्छ ।

पाइलटसहित ५ सिट क्षमता रहेको हेलिकप्टर मध्यम खालको हो । सुरक्षाका दृष्टिले राम्रो भए पनि तुलनात्मक रुपमा यो सस्तो हेलिकप्टर भएको भन्दै यो हेलिकप्टरको सञ्चालन खर्च समेत कम हुने भएकाले यसको फाइदा यात्रुले पनि पाउने थापाको भनाइ छ ।

सिम्रिक एयरसँग हाल ५ वटा विमान छन् । कम्पनीले एउटा हेलिकप्टर ४ वर्ष अघि खरिद गरेको थियो भने २ वट हेलिकप्टर डेढ वर्ष अघि खरिद गरेको थियो । साथै २ वटा हेलिकप्टर केही समय अगाडि खरिद गरेको थापाले जानकारी दिए ।


क्लिकमान्डु