४४ प्रतिशत छुट सहितको अफरमा निगमको बोइङ किन्न ३ कम्पनीले चासो देखाए



काठमाडौं । नेपाल वायु सेवा निगमले लिलामीमा राखेको पुरानो बिमान बोइङ ७५७–२०० विमान खरिदका लागि बोलपत्रमा तीन वटा कम्पनीले चासो देखाएका छन् ।

निगमले पछिल्लो पटक ४४ प्रतिशत छुट सहित बिक्रीमा राखेको थियो । जसका लागि निगमले नोभेम्बर २७ लाई अन्तिम मिति तय गरेको थियो । निर्धारित समयसम्म ३ वटा कम्पनीले चासो देखाएको निगमको भनाइ छ ।

निगमको उक्त विमान खरिदका लागि एभियोन एभिएसन, एमके एभिएसन र एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले चासो देखाएका हुन् । निगमले तीन जनाको प्रस्तावमध्ये जसको धेरै मूल्य हुन्छ उसैलाई बिक्री गर्ने बताएको छ ।

प्रस्ताव आएका कम्पनीबाट नेगोसिएसनका आधारमा बिक्री गरिनेछ ।

यसअघि २ पटकसम्म बोलपत्र आव्हान गर्दा समेत निर्धारित मूल्यभन्दा निकै कममा प्रस्ताव आएपछि निगमले तेस्रो पटक सूचना प्रकाशित गरी बोलपत्र आव्हान गरेको थियो ।

निगमले पहिलो पटक गत असार ११ गते ४५ दिनका लागि र दोस्रो पटक साउन २६ गते सूचना प्रकाशित गरेको थियो ।

निगमले तस्रो पटक बोलपत्रको सूचना प्रकाशित गर्दा ४८ करोड ७२ लाख रुपैयाँ मूल्य निर्धारण गरेको थियो । निगमले पहिलो पटक बोलपत्र आव्हान गर्दा ७६ करोड ७६ लाख रुपैयाँको निर्धारण गरेको थियो । पहिलो पटकको तुलनामा उक्त रकम ४४ प्रतिशत कम हो ।

उक्त विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्छ । विमान हालसम्म ८९ हजार घण्टा उडान गरिसकेको छ । विमानमा १९० सिट छन् ।

निगमले उक्त विमान सन् १९८० मा अमेरिकन कम्पनीसँग खरिद गरेको थियो ।


क्लिकमान्डु