अर्थमन्त्रीका छोरा तिलक खतिवडाले जनता बैंक छाडे, बढुवा भएर सनराइज बैंकमा जागिर थाले



काठमाडौं । स्थापना कालदेखि नै जनता बैंकमा कार्यरत तिलक खतिवडाले जागिर छाडेका छन् । जनता बैंक छाडेका खतिवडा बढुवा भएर सनराइज बैंकमा काम शुरु गरिसकेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक आइटी एक्सपर्ट हुन् । २०६६ चैतमा स्थापना भएको जनता बैंकमा उनी सूचना प्रविधि विभागमा काम गर्थे । अढाई वर्षअघि बैंक व्यवस्थापनले उनको विभाग सरुवा गर्दै महाराजगञ्ज शाखाको प्रबन्धकको जिम्मेवारी दिएको थियो ।

अर्थमन्त्री खतिवडा र उनको परिवारको जनता बैंकमा १ करोड रुपैयाँ बराबर बजार मूल्य हुन आउने लगानी छ ।

आफू सूचना प्रविधिको जानकार भएको तर बैंकले ब्राञ्च म्यानेजरको जिम्मेवारी दिइएकोमा खतिवडा सन्तुष्ट थिएनन् ।

‘तिलकजीले जनता बैंक छाडेको ३ महिनाजति भयो,’ जनता बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

जनता बैंकमा उनी असिस्टेन्ट म्यानेजर थिए । सनराइज बैंकले डेपुटी म्यानेजर प्रस्ताव गरेपछि खतिवडा सनराइज गएका हुन् ।

सनराइज बैंकले खतिवडालाई सूचना प्रविधि र म्यानेजमेन्ट इन्फरमेशन सिस्टम चिफको जिम्मेवारी दिएको छ । उनले क्लिन इनर्जी बैंकको आइटी विभागबाट २०६३/६४ सालदेखि जागिरे जिवनको शुरुवात गरेका थिए । क्लिन इनर्जीमा ट्रेनिका रुपमा काम शुरु गरेका खतिवडा त्यसको झन्डै ३ वर्षपछि बढुवा भएर जनता बैंक गएका थिए ।

जनता बैंक र ग्लोबल आइएमइ बैंकबीच गत असार तेस्रो साता मर्जरमा जाने समझदारी भयो । यी बैंकले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । मर्जरपछिको ग्लोबल आइएमइ बैंक अधिकांश सूचकमा नम्बर वान हुँदैछ । ग्लोबल र जनता बैंकबीचको मर्जर निश्चित भएपछि खतिवडाले जनता बैंकको जागिर छाडेका हुन् ।

खतिवडाका बुबा डा. युवराज खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

‘आफ्ना बाबु गभर्नर र अर्थमन्त्री भए पनि तिलकजीले कहिल्यै बाबुको शक्तिको फूर्ति देखाउनु भएन,’ उनीसँगै जनता बैंकमा केही वर्ष काम गरेका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘उहाँ प्रोफेसनल्ली काम गर्ने मान्छे हो ।’


पुष्प दुलाल