बैंकले पैसा जोगाउन करारमा कर्मचारी राख्दा बैंकमा असुरक्षा बढ्यो
काठमाडौं । भदौ महिनाको मध्यतिर नेपाली बैंकिङ क्षेत्रमा नयाँ घटना घट्यो । शनिबार बिदाको दिन चिनियाँ ह्याकरहरुले विभिन्न बैंक एटीएमबाट झण्डै तीन करोड रुपैयाँभन्दा बढी रकम निकाले । यो घटना बाहिर आउँदा समग्र बैंकिङ प्रणाली नै तर्सियो ।
बैंकको पूरै सिस्टम नै ह्याक गरी एटीएम बुथबाट रकम चोरी गर्दागर्दै चोरीमा संलग्न केही चिनियाँ ह्याकरहरु पक्राउ परे । नेप्स र भिजाबीचको सिस्टम नै ह्याक गरी करोडौं रुपैयाँ चोरी भएपछि बैंक थप सशंकित भए । र, केही समयका लागि इन्टर–बैंकिङ ट्रान्ज्याक्स नै बन्द गरे ।
उक्त घटना सेलाउन नपाउँदै बैंकिङ क्षेत्रमा अर्को घटना घट्यो । चिनियाँ ह्याकरको घटना घटेको २० दिनपछि कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरिएको घटना सार्वजनिक भयो । प्रहरीले घटनामा सलग्न केहीलाई पक्राउ समेत गर्यो । अनुसन्धान गर्दै जाँदा उनीहरुले ५ अर्ब रुपैयाँसम्म चोरी गर्ने योजना बनाएको प्रहरीले पत्ता लगायो ।
प्रहरीका नाममा फोन गरेर यसरी लुटियो जनता बैंकबाट २० लाख, ठूलो गिरोहको आंशका
भदौ र असोजमा महिनामा लगातार भएका ‘बैंकिङ फ्रड’ मंसिरमा फेरि दोहोरियो । यसपटक कलेज पढ्ने युवाहरु पक्राउ परे । प्रहरीले गत सोमबार जनता बैंकको न्यूरोडस्थित शाखामा चेक सटहीका लागि आएका ठगी गिरोहका सदस्यलाई पक्राउ गर्यो । उनीहरुले २ वटा बैंकमा रहेको विभिन्न व्यक्तिको खाताबाट ३० लाख रुपैयाँ निकालेको प्रहरीको अनुसन्धानले पुष्टि गरिसकेको छ ।
चार महिनाको अवधिमा नेपालको बैंकिङ क्षेत्रमा देखिएको यो डरलाग्दो ठगीको प्रवृतिबारे महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डीएसपी होबिन्द्र बोगटी यो प्रवृति नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत भइरहेको बताए ।
‘आर्थिक अपराधको जालो अहिले नेपालमा मात्रै होइन, विश्वव्यापी रुपमै बढिरहेको छ, फास्ट क्यास चाहिने, तुरुन्तै धनी बन्नुपर्ने, पैसा पनि ठूलो परिमाणमै चाहिने मानसिकता यस्ता अपराधमा देखिएको छ’ बोगटीले क्लिमाण्डूसँग भने ।
उनले यस्ता घटनाहरु विकसित, अविकसित सबै खाले राष्ट्रहरुमा बढिरहेको बताए । ‘नेपालमा पनि प्रत्येक दिन आर्थिक अपराधका घटना घटिरहेका छन्, चेक बाउन्सदेखि लिएर, बैदेशिक रोजगारीका नाममा हुने ठगीसँगै पछिल्लो पटक बैंकिङ सिस्टम ह्याक, नक्कली हस्ताक्षरसम्म आएको छ’ उनले भने ।
यस्ता घटनाले हामीलाई आर्थिक सुरक्षाको विषयमा थप चुनौती थपेको उनको बुझाइ छ । बढ्दो आर्थिक अपराधलाई नियन्त्रण गर्नका लागि प्रहरीका लागि समेत चुनौती थपिएको उनले बताए ।
बैंकबाट चोरिएको ग्राहकको रकम कसले तिर्छ ? यसो भन्छ राष्ट्र बैंक
बैंकले दिन्छन प्रशय
प्रवक्ता बोगटी कतिपय बैंकहरुले स–साना घटना घट्दा गुडविलका लागि बैंकभित्रै सीमित राख्ने बैंकको प्रवृति पनि दोषी भएको हो कि भन्नेमा आशंका गर्छन् ।
‘कतिपय बैंकले सानातिना घटनालाई बैंकमै सीमित राख्दा ठगहरुले प्रशय पाउने भएकाले राष्ट्र बैंकमार्फत् बैंकलाई अनुसन्धानमा सहयोग गर्न भनेका छौं’ उनले भने ।
बैंकमा पैसा जम्मा गर्नु भनेको ब्याजका लागि मात्रै होइन, सुरक्षाका लागि पनि हो । तर, तीनै बैंकमा दुःख गरी कमाएर राखेको पैसा ह्याकरहरुले निमेषभरमै यसरी स्वाहा पार्छन भने सर्वसाधारणको विश्वास पनि बैंकप्रति गुमेर जान्छ ।
बैंकहरु पनि यस्ता घटना नेपालमा मात्रै नभइ विश्वस्तरमा समेत हुने भएकाले त्यसलाई नेपाली बैंकलाई मात्रै दोषी देख्न नहुने बताउँछन् ।
चिनियाँ ह्याकर प्रकरणमा महानगरिय प्रहरी परिसर टेकु पुगेका बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बैंकहरुको प्रविधि निकै राम्रो रहेको दाबी गर्दै यस्ता घटनाका आधारमा मात्रै नेपाली बैंकको क्षमतामा प्रश्न गर्न नहुने बताएका थिए ।
तर ढुंगानाले जति सुकै राम्रो सुरक्षा संयन्त्र छ भने पनि बैंकबाटै हरेक महिना यस्ता घटना आउनु पक्कै पनि बैंकिङ क्षेत्रका लागि निकै गम्भीर चुनौती हो ।
एकातिर पछिल्लो समयमा प्रविधिको विषयलाई लिएर नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले बैंक प्रविधिमैत्री बनेको तथा सुरक्षित रहेको दाबी गर्न छाडेका छैनन् । तर बढ्दो बैंकिङ अपराधका घटनाले अर्को चुनौती बैंका लागि थपिदिएको छ ।
असुरक्षित बैंकिङ प्रणाली
लगातार घटेका घटना केलाउँदा न त चेकको कारोबार सुरक्षित छ, न त एटीएम बुथ नै सुरक्षित देखिए । उसो त नेपालमा मात्रै यस्ता घटना भएका होइनन । विकसित र सुरक्षित मानिने देशमा समेत बैंकिङ प्रणाली ह्याक भएर अर्बौ रुपैयाँ चोरी भएको घटना नभएका होइनन् ।
जर्मनीको बैंकको पैसा ब्राजिलमा बसेर ह्याकरले अर्बौ चोरेको घटना घटेको २ महिना मात्रै भयो । तै पनि निक्षेपका लागि सुरक्षित मानिने बैंक नै असुरक्षित देखिन थालेको त होइन भन्ने शंका भने पक्कै पनि आमजनमानसमा उठेको छ ।
बैंकिङ क्षेत्रको जोखिम न्यूनिकरणको लागि धेरै काम गर्दागर्दै यस्ता घटना दोहोरिरहँदा बैंकिङ क्षेत्र सुरक्षित छ त भन्ने प्रश्न उठाएको विज्ञ बताउँछन् । महिनै पिच्छे बैंकिङ क्षेत्रमा देखिएको यस्तो घटनाले बैंकिङ क्षेत्र असुरक्षित छ भन्ने देखाएको उनीहरुको बुझाइ छ ।
पछिल्लो समयमा ६ जनाको समूहले खातावालाको नक्कली हस्ताक्षर गरी जनता बैंकबाट १९ लाख ९९ हजार रुपैयाँ र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ चोरी गरेको पुष्टि भइसकेको छ । त्यतिमात्रै होइन, उनीहरुसँग २ बोरा कागजपत्र, विभिन्न व्यक्तिका फोटा, नागरिकताका प्रतिलिपि, विभिन्न बैंकका काटिएका र नकाटिएका चेकका थान तथा एटीएम समेत बरामत भएको छ ।
मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरी भएको पुष्टि, ६ बैंकका ग्राहकको नक्कली चेक बरामद
बरामत भएको चेक चोरले खातावालासँग संकलन नगरी बैंकबाटै नयाँ चेक लिएकाले बैंकिङ प्रणालीमा कति छिद्र छन् भन्ने देखाएको राष्ट्र बैकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रको भनाइ छ ।
चोरीमा संलग्न व्यक्तिहरुले बैंक कै कर्मचारी सहयोगमा यी सबै कागजपत्र संकलन गरेको राष्ट्र बैंकले बताएको छ । कुनै पनि व्यक्तिले आफ्नो नामको चेक लिन अर्को व्यक्तिलाई बैंकमा पठाएर सम्बन्धित व्यक्तिको सक्कली नागरिकता र उक्त व्यक्तिलाई फोन सम्पर्क गरी सोधपुछ गर्नु बैंकको दायित्व भएको मिश्रको भनाइ छ ।
‘बैंकले अर्को व्यक्तिलाई चेक दिँदा सम्बन्धित व्यक्तिलाई फोन गरी सोध्नुपर्ने थियो’, उनले भने ‘जति नै प्रतिष्ठित व्यक्तिले रिफर गरे पनि अर्को व्यक्तिलाई चेक पठाएको भएपनि बैंकले खातावालालाई सम्पर्क गर्नु उसको कर्तव्य हो ।’
यसैका आधारमा पछिल्लो घटनामा जनता बैंकका कर्मचारी संलग्न भएको शंका गर्न मिल्ने ठाउँ रहेको उनको भनाइ छ ।
बैंकको कर्मचारीको संलग्नता हुने शंका उत्पन्न भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला समेत भनाइ छ । ‘अनाधिकृत रुपमा अनाधिकृत कागजपत्रको प्रयोग गरी चोरी भएको छ,’ उनी भन्छन् ‘चोरीको छानबिनको क्रममा शंकाको दायरामा जो पनि पर्न सक्छ ।’
के गर्न सक्छन बैंकले ?
नक्कली हस्ताक्षरबाट चेक बनाएर व्यक्तिगत खाताबाट पैसा निकाल्न चोरी गिरोहले बैंकको कर्मचारी वा सम्बन्धित व्यक्ति नजिकको आफन्तबाट सहयोग लिएको हुनुपर्छ । पछिल्लो घटनामा व्यक्तिगत सहयोगभन्दा बैंकको काउन्टरमा काम गर्ने र अन्य अप्रेसन विभागका कर्मचारीको सहयोग हुन सक्ने बैंकिङ विज्ञको भनाइ छ ।
बैंकले चेकबुक इस्यू गर्ने समयमा पुरानो चेक बाँकी छ कि छैन् भनेर विवरण हेर्न सक्छ । कुनै खातावाताको चेक सिस्टममा बाँकी देखाउँदा नयाँ चेकबुकका लागि आवेदन आएमा नयाँ चेकबुक बैंकले दिन समेत नमिल्ने पूर्व बैंकर किशोर महर्जनको भनाइ छ ।
‘नयाँ चेकबुकको चेक नम्बरहरु सिस्टममा रेकर्ड राख्दा त्यो खातावालाको प्रयोग भए नभएको रेकर्डमा देखिन्छ,’ उनी भन्छन् ‘यहाँ त कर्मचारीले पुरानो रेकर्ड नै नहेरी र सम्बन्धित व्यक्तीलाई सम्पर्क नै नगरी चेकबुक दिएका छन् ।’ यसकारण पनि गिरोहको सम्बन्ध बैंकका कर्मचारीसँग हुन सक्ने र बैंकको कन्ट्रोलिङ सिस्टम बलियो नभएको प्रष्ट्र भएको महर्जनले बताए ।
बैंकबाट पैसा चोरी गर्ने कलेज पढ्ने ‘टुक्डे ग्याङ’, पैसामा कुरा नमिलेपछि छुट्टै समूह बनाए
यसरी पाएको हुन सक्छ प्रशय
राष्ट्र बैंकले केही वर्ष अगाडि सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकलाई शाखा विस्तार गर्न निर्देशन दिएको छ । यसका साथै सरकारी आर्थिक बारोबार सबै बैंकमार्फत् नै गर्नुपर्ने आदेश सरकारको छ ।
दक्ष कर्मचारीको अभाव झेलिरहेका बैंकहरुलाई शाखा विस्तारको कारणले अझ कर्मचारीको समस्या थपिएको छ । दक्ष कर्मचारीको अभावमा बैंकमा योग्यता र क्षमताविहीन कर्मचारी राख्न बैंक बाध्य छ । आफू कार्यरत पदको जिम्मेवारीसमेत समाल्न नसक्ने कर्मचारी बैंकका शाखामा कार्यरत रहेको विज्ञहरुको बुझाइ छ ।
‘राम्रोसँग बैकिङ व्यवसाय र त्यसको प्रणाली नै नबुझेकाहरुलाई बैंकले ग्रामीण क्षेत्रमा खोलिएका शाखा कार्यलयमा ब्राञ्च म्यानेजर नै बनाएर पठाइरहेको छ,’ पूर्व बैंकर किशोर महर्जन भन्छन् ‘आफ्नो जिम्मेवारी नै वहन गर्न नसक्नेले बैंकिङ जोखिम कसरी वहन गर्न सक्छ ?’
उनले साधारण बैंकिङ समस्यालाई राम्रोसँग समाधान गर्न नसक्ने कर्मचारी राख्ने धेरै बैंकहरु भएको बताए ।
राष्ट्र बैंकको बाध्यकारी नीति अनुरुप बैंकहरुले १ वर्षमै २ सयभन्दा बढी शाखा विस्तार गरिसकेका छन् । शाखा विस्तारले बैंकको सञ्चालन खर्च बढ्नुका साथै नयाँ कर्मचारी थप गर्नुपर्ने र कर्मचारी खर्च अत्यधिक बढेर नाफा संकुचित हुने भय बैंकहरुमा छ ।
जसको समाधानमा बैंकहरुले कर्मचारीलाई नयाँ खाता र निक्षेपको टार्गेट दिने गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
‘बैंकहरुले काउन्टरमा बस्ने कर्मचारीलाई नयाँ खाता खोल्ने र निक्षेप संकलनको टार्गेट दिने गरेको पत्ता लागेको छ,’ उनले भने ‘यस्ता कार्यहरुले व्यवसाय वृद्धि भएपनि सञ्चालन जोखिम बढ्न जान्छ ।’ पछिल्लो समय बैंकहरुले संस्थागत सुशासन बिर्सिँदै गएको उनको भनाइ छ ।
शाखामा खटाइएका अर्धदक्ष कर्मचारी, त्यसमा व्यवसाय बढाउनै पर्ने माथिल्लो तहको दवाव त्यसैबाट बैंकिङ क्षेत्रमा अनैतिक घटना घट्न सुरु हुने जानकारको बुझाइ छ । शाखाका कर्मचारीहरु तोकिएको टार्गेटमा नयाँ खाता खोलाउनलाई ग्राहकसँग आवश्य सम्पूर्ण कागजपत्र तथा विवरण नमागी खाता खोलिरहेका हुन्छन् ।
यसको फाइदा गलत नियत भएका कर्मचारी वा मानिसले लिने बैंकर किशोर महर्जनको अनुभव छ ।
‘अधुरा डकुमेन्ट लिएर पछि पूरा गर्दिनु भन्दै बैकका कर्मचारी खाता खोल्छन्,’ उनले भने ‘उनीहरुलाई तोकिएको समय सीमाभित्र तोकिएको खाता संख्या पुर्याउन, प्रक्रिया पुर्याउनेभन्दा जागिर जोगाउने ध्यानले गर्दा यस्तो घटानालाई प्रशय मिलेको हो ।’
राष्ट्र बैंकले शाखा विस्तारको योजना ल्याउँदा ती शाखामा नियुक्त गरिने कर्मचारीको न्यूनतम दक्षता र अनुभव पनि तोक्नुपर्ने उनको भनाइ छ ।
हाल बैंकहरु ग्रामीण क्षेत्रमा विस्तार गरिएका शाखामा केन्द्रीय कार्यालय वा अन्य शाखाका तल्लोतहका कर्मचारीलाई प्रमोसन नै दिएर खटाइरहेका छन् । बैंकद्वारा विस्तारित ती शाखालाई ‘क’, ‘ख’, ‘ग’ वर्गमा वर्गिकरण गरी नियुक्त गरिने कर्मचारीको न्यूनतम योग्यता र अनुभव राष्ट्र बैंकले नै तोक्नुपर्ने बैंकर महर्जनको भनाइ छ ।
‘अनुभवी र दक्ष कर्मचारी नियुक्त गर्न बैंकको खर्च बढ्ने भयो त्यसलै पुरानै कर्मचारीलाई केही मात्रामा तलब बढाएर ब्राञ्चमा ठूलो पदमा नियुक्त गरी पठाउँछन्,’ महर्जन भन्छन् ‘साधारण काम गरिरहेको कर्मचारीलाई दवाबसहित शाखाको सम्पूर्ण अप्रेसनको कामको जिम्मा दिइएको हुन्छ, आफले गर्ने कामको बारेमा थाहा नै नभएको कर्मचारीबाट नै हुने यस्तो प्रकारका घटना घट्छन् ।’
दक्ष अनुभवी ब्राञ्च म्यानेजर शाखामा पठाउँदा न्यूनतम पनि १ लाख रुपैयाँसम्म तलब दिनुपर्छ । तर ५०/६० हजारमा नै असिस्टेन म्यानेजर वा सुपरभाइजरहरुलाई शाखा प्रमुख बनाएर पठाउँदा १ जना बराबर बैंकको २०/३० हजार खर्च बचाउँदा पनि एक बैंकले सबै शाखाबाट २÷३ करोड रुपैयाँ कर्मचारीमा हुने खर्च जोगाउँछ ।
बैंकले पैसा जोगाउन चलाखी गर्दा यस्तो प्रकारका घटनाहरु जन्मिएको हो । बैंकहरुले कर्मचारीको क्षमता अभिवृद्धिका तालिमहरु महिना नै पिच्छे गराउनुपर्ने उनको भनाइ छ ।