सप्तरीमा उद्योगको संख्या ४३९ पुग्यो, प्रति उद्योग करीब ४ जनालाई रोजगारी



सप्तरी । जिल्लामा उद्योगको सङ्ख्या ४३९ पुगेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १७५ उद्योग दर्ता हुँदा उद्योगको सङ्ख्या ४३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

नयाँ उद्योग दर्ताबाट ३८ लाख ७२ हजार ६४० राजश्व सङ्कलन भएको र ५८३ लाई रोजगारी सिर्जना भएको उद्योग अधिकृत सन्तोषकुमार साहले बताए । सो कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जम्मा ४३९ उद्योगले भने एक हजार ४०४ लाई रोजगारी दिएको छ । कूल पूँजी ३८ करोड ६९ लाख ८१ हजार रहेका उद्योगले प्रति उद्योग करीब चार जनालाई रोजगारी सिर्जना गरेका उद्योग अधिकृत साहले बताए ।

सो कार्यालयले उद्योग र वाणिज्य दुवै तर्फबाट एक करोड ७९ लाख ७३ हजार ६६८ राजश्व आम्दानी गरेको उद्योग साहले जानकारी दिए । मुलुकको आर्थिक विकास र समृद्घिको आधार स्तम्भ उद्योग नै रहेको बताउँदै साहले स्वावलम्बी तथा आत्मनिर्भर भई उद्योग व्यवसाय दर्ता गर्ने प्रक्रियामा तीव्रता आएको बताए ।

घरेलु तथा साना उद्योग र उत्पादनले प्रोत्साहन पाएकामा खुशी व्यक्त गर्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले ठूला उद्योग स्थापना गर्न प्रदेश र सङ्घीय सरकारले जोड दिनुपर्ने बताए । उद्योगको विकास नभए जिल्ला र मुलुकको विकास नहुने भन्दै प्रधानले सबै निकायले एक भएर औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु