नक्कली चेक बनाएर जनता बैंकबाट पैसा निकाल्ने ६ जना पक्राउ



काठमाडौं । नयाँ बानेश्वरस्थित जनता बैंकबाट नक्कली चेक बनाएर ६ जनाले १९ लाख रुपैयाँभन्दा बढी रकम झिकेका छन् ।

बैंकबाट गोपालमान राज बाहकको खाताको नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट १८ लाख रुपैयाँ प्रहरीले बरामद गरिसकेको छ । उनीहरुले पटक–पटक गरी खाताबाट पैसा निकालेका थिए ।

प्रहरीले यसमा बैंकका कर्मचारीको समेत मिलेमतो हुन सक्ने भन्दै अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

घटनामा संलग्न काभ्रेका सुभास श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अञ्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ७ दिनको म्याद थपेको छ ।


क्लिकमान्डु