करिब २ अर्ब लगानीमा ३ औषधी उद्योग खुल्दै



काठमाडौं । नेपालमा डेढ अर्बभन्दा बढी लगानीमा नेपालमा औषधी उद्योग खुल्ने भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ३ वटा लगानीकर्ताले औषधी उत्पादन गर्नका लागि उद्योग विभागमा आवेदन दिएका छन् । उद्योग विभागका अनुसार ३ वटा उद्योगमा १ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ लगानी हुनेछ । जहाँबाट २९१ जनले रोजगारी पाउनेछन् ।

उद्योग विभागका अनुसार सबैभन्दा ठूलो लगानी ललितपुरको गोदावरीमा हुनेछ । व्यापारी धर्मेन्द्र अग्रवाल र दीपककुमार टिवडेवालले १ अर्ब ३० करोड १९ लाख ७३ हजार रुपैयाँ लगानीमा औषधी उद्योग सञ्चालन गर्न लागेका हुन् ।

डेरेन फर्मास्युटिकल प्रालि नामक कम्पनीमार्फत् १८४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ । उद्योग विभागका अनुसार कम्पनीले २ करोड ५० लाख ट्याब्लेट, ८० लाख क्याप्सुल, ३ करोड ५० लाख ओइन्टमेन्ट्स ट्युव र ८ करोड इजेक्टेबल उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, सुनसरीको दुहवीमा समेत ३५ करोड लगानीमा औषधि उद्योग खुल्ने भएको छ । फार्मेनिक्स लाइफ साइन्सेस प्रालिका नाममा उद्योग विभागमा दर्ता गरिएको यस कम्पनीले १० करोड ट्याब्लेट, ५ करोड क्याप्सुल, २५ लाख ओइन्टमेन्ट्स ट्युव उत्पादन गर्ने बताएको छ ।

त्यस्तै, २४ करोड रुपैयाँको लगानीमा काभ्रेको बनेपामा औषधि उद्योग खुल्ने भएको छ । स्यज कुमार यादव लगानीकर्ता रहेको कम्पनीमा २४ करोड १४ लाख ४८ हजारको लगानी हुनेछ । कम्पनीले ५ करोड ट्याब्लेट, १ करोड क्याप्सुल, ५००० किलोलिटर लिक्विड (ओरल एन्ड एक्सटर्नल) ओइन्टमेन्ट्स ट्युव २० लाख र ५० हजारकेजी पाउडर उत्पादन गर्नेछ ।

कम्पनीमा ६२ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।


पुष्प दुलाल