राष्ट्र बैंकको परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? यस्ता प्रश्न आउँछन्



काठमाडौं । राष्ट्र बैंकले गत साता तीन वटा पदका लागि ६७ जना कर्मचारीहरु माग गरेको छ । जसमा अधिकृत तृतीय स्तरको सहायक निर्देशकमा २८ जना, अधिकृत तृतीय स्तर लेखापरीक्षणमा ८ जना र सहायक द्वितीय पदमा ३१ जना माग गरेको हो ।

इच्छुक आवेदकले मंसिर ५ गतेसम्म आदेदन दिन सक्ने बैंकद्वारा प्रकाशित विज्ञापनमा उल्लेख छ ।

बैंकले खुलाएको आवेदनमा तोकिएको योग्यता पुगेकाले आवेदन दिइरहेका छन् । आवेदन दिएर बसेकाहरु धेरै जनालाई बैंकले खुलाएको पदका लागि कस्ता प्रश्नहरु सोधिन्छ भनेर अन्योल नै हुन्छन् ।

राष्ट्र बैंकमा ६७ जनालाई जागिर खुल्यो, प्लस टू पासलाई पनि अवसर

राष्ट्र बैंकको परीक्षाको तयारीका लागि हाल विभिन्न कन्सल्टेन्सीहरुले तयारी कक्षाहरु पनि सञ्चालन गरिरहेका छन् । तर घरमा नै बसेर स्वअध्ययन गर्नेका लागि भने सम्बन्धित पाठ्यक्रम कुन हुन र कुन क्षेत्र वा विषयबाट कति पूर्णांकसम्मको प्रश्नहरु परीक्षामा सोधिन्छ भनेर थाहा हुँदैन ।

राष्ट्र बैंकले पछिल्लो पटक खुला गरेको आवेदन अनुसारको पदमा कुन विषयबाट कति पूर्णांकका कस्तो प्रकारका प्रश्न सोधिन्छ साथै मौखिक परीक्षा र लिखित परीक्षा कति पूर्णांकको हुन्छ भनेर उल्लेख गरेका छौं ।

१) सहायक निर्देशक र लेखापरीक्षण (अधिकृत तृतीय स्तर) :

सहायक निर्देशकमा २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर परीक्षा पास गरेकोहरुले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।

साथै २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले लेखा र लेखापरीक्षणका लागि सीए, एसिसिए वा सिपिए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेकाहरुले आवेदन दिन सक्नेछन् ।
अधिकृत तृतीय स्तरको अधिकृत सहायक निर्देशक र अधिकृत लेखापरीक्षणतर्फ राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा लिइने लिखित परीक्षाको प्रश्नहरु अंग्रेजीमा वा नेपालीमा सोधिन्छ ।

परीक्षार्थीले अंग्रेजी वा नेपाली दुबै माध्यमबाट प्रश्नको उत्तर दिन सक्नेछन् । सो पदको १०० पूर्णांकका ३ वटा विषयका परीक्षा हुनेछन् । जसमा सबैभन्दा पहिला लेखा तथा लेखापरीक्षण सम्बन्धी १०० पूर्णांकको परीक्षा हुनेछ । यो परीक्षालाई राष्ट्र बैंकले ४ घण्टामा २ वटा खण्ड गरेर लिनेछ । जसमा लेखातर्फको ६० पूर्णांकको र लेखापरीक्षणतर्फ ४० पूर्णांकको रहेको छ ।

दोस्रो परीक्षा वित्तीय कानून विषयमा १०० पूर्णांकको परीक्षा हुनेछ । यो विषयलाई ३ खण्डमा विभाजन गरी परीक्षा लिइन्छ । जसमा पहिलो खण्डमा ४० पूर्णांकको बैंकिङ कानून, दोस्रो खण्डमा ३० पूर्णांकको विनियमावली तथा निर्देशन र तेस्रो खण्डमा ३० पूर्णांकको अन्य कानून रहेको छ ।

सहायक निर्देशक र लेखापरीक्षण (अधिकृत तृतीय स्तर) तेस्रो परीक्षा १०० पूर्णांकको बैंकिङ तथा वित्तीय व्यवस्थापनको हुनेछ । यो परीक्षालाई पनि ३ खण्डमा नै विभाजन गरेर प्रश्नहरु सोधिन्छ ।

जसमा बैंकिङ समूहको ६० पूर्णांकको प्रश्नहरु हुनेछन् भने वित्तीय व्यवस्थापन र समस्या समाधान समूहको २० पूर्णांकको प्रश्नहरु सोधिन्छन् ।

राष्ट्र बैंकले लिने १०० पूर्णांकको लिखित परीक्षामा परीक्षार्थीले न्यूनतम ४० अंकसम्म ल्याएमा मात्र लिखित परीक्षा उत्तीर्ण हुनेछन् । लिखित परीक्षामा नाममा नाम निकाल्न सफल परीक्षार्थीले ४० पूर्णांकको मौखिक परीक्षा दिनुपर्ने हुन्छ । ४० पूर्णांकको मौखिक परीक्षामा ४० नै अंक ल्याउनु पर्छ ।

२) सहायक द्वितीयः

राष्ट्र बैंकले माग गरेको सहायक द्वितीय पदमा १८ वर्ष पूरा भएका र ३५ वर्ष ननाघेका र मान्यताप्राप्त शिक्षण संस्थाबाट १ं२ कक्षा उत्तीर्ण भएकाले आवेदन दिनसक्ने छन् ।

महिलाको हकमा भने सो पदका लागि उमेर हद ४० वर्षसम्मकाले आवेदन दिनसक्ने र बाहलवालाको हकमा उमेर हद नलाग्ने बैंकले जनाएको छ ।

सहायक द्वितीय पदका लागि परीक्षा दिने परीक्षार्थीले प्रथम र द्वितीय पत्र गरी २ वटा परीक्षा दिनुपर्नेछ । प्रथम पत्रमा १०० पूर्णांकको सामान्य ज्ञान, रचना र गणित गरी ३ वटा खण्डमा प्रश्नहरु सोधिनेछन् । जसमा सामान्य ज्ञान ३० अंक, रचना २० अंक र गणित ५० अंकका प्रश्नहरु सोधिन्छ ।

यस्तै, सहायक द्वितीय पदको द्वितीय पत्रमा १०० पूर्णांकको बैंकिङ तथा लेखा विषयमा परीक्षा दिनुपर्नेछ । उक्त पदको परीक्षा ३ घण्टाको हुनेछ ।

 

 


क्लिकमान्डु