लगानी बढाउन नेपाल उद्योग परिसंघ र एनआरएनबीच सहमति
काठमाडौं । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ ।
यसका लागि उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमति पत्रमा बुधवार काठमाण्डौमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासिय नेपालीसंघको नेतृत्वलाई परिसंघको कार्यालयमा स्वागत गर्दै नेपालमा गैरआवासिय नेपालीहरुको लगानी प्रवर्धन गर्ने, औद्योगिक विकासमा सिप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्न सकिने जानकारी गराएको छ ।
सो अवसरमा परिसंघका अध्यक्ष मोरले लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ्ख आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा गैरआवासिय नेपालीहरुको लगानी रहेको भन्दै थप लगानी तथा साझेदारी बढाउन आग्रह गरे । औद्योगिक क्षेत्रमा लगानी बढाउदाँ नेपालको अर्थतन्त्र सबल हुने र रोजगारी विस्तार हुने भएकाले गैरआवासिय नेपालीहरुले परिसंघसंग गरेको सहकार्य परिणामुखी हुनेमा विस्वश्त रहन पनि अध्यक्ष मोरले आग्रह गरे । परिसंघका उपाध्यक्षहरुले गैरआवासिय नेपाली संघले अघि बढाएको लगानी फण्डलाई सकेसम्म छिटो परिचालन गर्न सुझाव दिएका थिए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैरअवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघसंग सघन सहकार्य गर्न अग्रसरता लिएको बताए । नेपाल उत्पादन तथा ब्राण्ड र पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य फलदायी हुने विस्वास पनि अध्यक्ष पन्तले व्यक्त गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त सहित उपाध्यक्ष डा. बद्री के. सी. र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर सहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निवार्ण चौधरी, अनुज अग्रवाल, राजेश अग्रवाल, सुलभ अग्रवाल लगायतको सहभागिता थियो ।