विदेशी विनिमय सञ्चिति ४० अर्बले बढ्यो



काठमाडौं । विदेशी विनिमय सञ्चिति बढेको छ । गत असार मसान्तको तुलनामा भदौ महिनामा कुल विदेशी विनिमय सञ्चिति ४० अर्ब रुपैयाँले बढेको हो ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई २०७६ भदौ मसान्तमा १० खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ अर्ब ४४ करोड कायम भएको छ ।

आव २०७६-७७ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति  असार मसान्तमा ९० खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ९३ खर्ब २ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा भदौ मसान्तमा १ खर्ब ४६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३१.१ प्रतिशत, ६९.६

प्रतिशत र ३०.२ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपात क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।


क्लिकमान्डु