काठमाडौंमा ओली र दिल्लीबाट मोदीले रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्ने, यस्तो छ तयारी



वीरगञ्ज । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने सम्पूर्ण काम सकिएसँगै भदौ २४ गते मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन् ।

मंगलबार १२ बजे ओलीले काठमाडौं सिंहदरबारबाट र मोदीले दिल्लीको हैदराबाद हाउसबाट रिमोर्ट थिचेर उद्घाटन गर्ने छन् ।

भिडियो कन्परेन्सबाट हुने उद्घाटनका लागि ६ वटा क्यामरा जडान गरिएको छ ।

अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवका अनुसार भोलिको कार्यक्रमका लागि भारतबाट इन्डेन आयल कर्पोरेसनका कार्यकारी निर्देशक अभिजित चौधरी र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल अतिथीका रुपमा उपस्थित हुनेछन् ।

दुबै देशका प्रधानमन्त्रीले रिमोर्ट थिचेपछि पाइपलाइनको सिस्टम अन हुनेछ । त्यसपछि चौधरीले पौडेललाई पाइपलाइनबाट आएको डिजल हातमा दिनेछन ।

उद्घाटनसँगै भारतको मोतीहारीबाट डिजल पाइपलाइनबाट नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा आउनेछ ।

सुरुमा डिजल मात्रै ल्याइनेछ भने पछि पेट्रोल र मट्टितेल पनि ल्याउने डिपोका इञ्जिनियर ऋषीराम शर्माले जानकारी दिए ।

पाइपलाइनबाट डिजल आएसँगै डिजल लिनका लागि ट्यांकर भारत जानुपर्ने बाध्यता हट्नेछ भने बन्द हड्ताल जस्ता समस्याले पनि डिजल आयात प्रभावित हुने छैन ।

यसका लागि भारतको मोतीहारीदेखि ६९।२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । जसमा नेपालतर्फ ३६ किलोमिटर पाइप ३ मिटर जमिनमुनी बिछ्याइएको छ ।

पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर डिजल आउनेछ । यसरी २४ घन्टामा ४८ लाख लिटर डिजल आउनेछ । अहिले अमलेखगञ्ज डिपोमा दैनिक २० लाख लिटरको माग छ ।

अब अन्य डिपोमा पनि यहीबाट डिजल दिन सकिनेछ ।

भारतले बरौनीदेखि पटना हुँदै मोतीहारीसम्म पाइपलाइमार्फत पेट्रोलियम पदार्थ ल्याइसकेपछि नेपालमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन सहज र सस्तो भएको हो ।

पेट्रोलियम पदार्थ पाइपलाइनबाट आएसँगै मासिक २ करोड रुपैयाँ र वार्षिक २४० करोड रुपैयाँ ढुवानी खर्च बचत हुनेछ ।

कुल २७५ करोड भारु लागतमा बनेको यो परियोजनामा भारतले २०० करोड भारू र बाँकी ७५ करोड भारु नेपालले बेहोरेको थियो ।


क्लिकमान्डु