आरबीआईका पूर्वगभर्नर रघुराम राजनले मोदी सरकारलाई गराए सतर्क, भने- भविष्यमा आर्थिक संकट देखिएको छ



भारतीय अर्थतन्त्र अहिले समस्यामा छ । उद्योगहरु बन्द भइरहेका छन् भने रोजगारी कटौती भइरहेको छ ।

अटोमोबाइल्स हुँदै कपास, टेलिभिजन लगायत साना तथा मझौला उद्योगमा उत्पादन कटौतीसँगै रोजगारी गुम्नेको संख्यामा बृद्धि भएको छ ।

यस्तोमा भारतीय रिजर्ब बैंकका पूर्व गभर्नर रघुराम राजनले भारतीय अर्थव्यवस्था अत्यन्त चिन्ताजनक अवस्थामा आएको टिप्पणी गरेका छन् ।

समाचार ऐजेन्सी पिटिआईलाई दिएको अन्तरर्वार्ताको क्रममा राजनले मन्दी चिन्ताजनक रहेको र ऊार्ज तथा गैर बैकिङ क्षेत्रमा देखिएको समस्याको समाधान तुरुन्त गर्नुपर्ने बताएका छन् ।

‘निजी क्षेत्रमा लगानी बढाउनको लागि सुधारको जरुरी देखिएको छ,भारतमा जसरी जिडिपीको गणना गरिएको छ,त्यसलाई सुधार गर्न आवश्यक छ,’राजनले भने ।

राजनले मोदी सरकारको पूर्व आर्थिक सल्लाहकार अरविन्द सुव्रमण्डमको भनाईलाई लिदै जिडिपीलाई बढाएर पेश गरिएको बताएका थिए ।

गएको वर्ष भारतमा ६.८ प्रतिशत आर्थिक बृद्धिदर भएको थियो । जुन आर्थिक वर्ष २०१४/१५ पछिकै सबैभन्दा कम थियो । भारत सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरेको छ । यद्यपी यो लक्ष्य हासिल गर्नको लागि समेत चुनौती हुने प्रक्षेपण अर्थशास्त्रीहरुले गरेका छन् ।

राजनले कम्पनीहरु चिन्तित रहेको र सुधारको लागि सरकारसँग पहल माग गरिरहेको हुँदा सरकारले सुधारको पहल गर्नुपर्ने बताएका छन् ।

उनले सुधारको लागि अन्तराष्ट्रिय बजारबाट कर्जा लिनु समस्याको समाधान नभएको बताउदै त्यसलाई तन्काउनु मात्र भएको बताए ।

उनले विश्व स्तरमा एउटा ठूलो आर्थिक संकट निम्तने खतरा रहेको बताए । ऐजेन्सी


क्लिकमान्डु