एनआरएनको मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत चयन



काठमाडाैं । एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत चयन भएका छन्। अध्यक्षमा सर्वसम्मत निर्वाचित भट्टराई यसअघि संघमा मनोनित सदस्यको रुपमा थिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा, सचिव रन्जित क्षेत्री, सचिव नेत्र केसी, कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रविलाल अधिकारी चयन भएका छन् ।

क्वालालाम्पुरमा शनिबार पत्रकार सम्मेलन गरेर भट्टराईले १४ बुदेँ प्रतिबद्ता घोषणापत्रमा उल्लेख गरेका छन् ।

मलेसियामा कार्यरत श्रमिकलाई समस्यामा परे वा नेपाल फर्किनु पर्ने अवस्था आए तिनलाई आर्थिक सहायता प्रदान गर्न श्रमिक कल्याणकारी कोष स्थापना गर्ने उनले बताए । उक्त कोषमा व्यक्तिगत रुपमा ५० हजार रिंगेट हालेर कोषको सुरुवात गर्ने उनले बताए ।

कोषलाई पारदर्शी ढंगमा संचालन गर्न म बाहेक संस्थामा आवद्ध ३ सदस्यीय समिति निर्माण गर्ने र जसमा नेपाली दूतावास मलेसियाले सिफारिस गरेका समस्यामा परेका श्रमिकले पहिलो प्राथमिकतामा सहयोग पाउने उनले बताए ।

अध्यक्षमा निर्वाचित भएको ३ महिनाभित्र संघको आफ्नै कार्यालय स्थापना गरेर संघका गतिविधि सबै माझ तत्काल पुग्ने गरी प्रभावकारी सूचना संयन्त्रको विकास गर्ने उनले बताए ।

संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरी तिनको कार्यविधि निर्माण गर्ने र कार्यविधि वमोजिम उप–समितिहरुको कार्य प्रगति अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी बनाउने उनले बताए ।

मलेसियामा कार्यरत सबै संघसंस्थासँग सहकार्य गर्दै ती संस्थाबाट प्राप्त सल्लाह र सुझावलाई ग्रहण गर्दै अघि बढ्ने भन्दै उनले मलेसियाका विभिन्न ५ स्थानमा संगठन विस्तार गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

प्रत्येक महिना मलेसियाका विभिन्न सहरमा संस्थाका गतिविधि बारे र सो स्थानमा कार्यरत श्रमिकका समस्या बारे अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने, नेपाल र मलेसियाबीचको दशकौ लामो दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गर्ने, दुई देशको भाषा, संस्कृति र कलाका माध्यमबाट एक अर्कामा जोड्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्राउन विभिन्न प्रवार्दनात्मक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

उनको घोषणापत्रमा श्रमिकको हक, हितका लागि नेपाली दूतावास मलेसियासँग सहकार्य गरेर अघि बढ्ने, ‘श्रमिकको आम्दानी, नेपालमा लगानी’ भन्ने मूल नारालाई अघि सार्दै आईसीसीसँग समन्वय गरी मझौला तथा ठूला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्ने र ठूला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै एनआरएनए इन्भेस्टमेन्ट फण्डू मा लगानी गर्न सहजीकरण गर्ने लगायतका बुदाँ उल्लेख छ ।

आईसीसीसँगको संवादलाई अझ गतिशील र प्रभावकारी बनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको माध्यमबाट भरपूर सहयोग गर्नुको साथै ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’को नीति अवलम्वन गर्दै एनआरएनए मलेसिया सबैको साझा संस्था भन्ने भाव जागृत गराउने उनले बताए ।

एनआरएनए एनसीसी मलेसियालाई एक गैर नाफामूलक साझा समाजिक संस्थाको रुपमा विकसित गर्दै मलेसियाको कानून बमोजिम दर्ता गर्न सबैको साथ र सहयोग लिएर अघि बढ्ने उनले बताए ।


क्लिकमान्डु