उपचार गरी फर्केका प्रधानमन्त्री ओलीले भने–मेरो स्वास्थ अवस्थाबारे केहि दिनमा थाहा पाइहाल्नुहुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनी स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उपचार गरी फर्किएका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेनन । प्रधानमन्त्री स्वदेश फर्किने भएपछि विमानस्थल पुगेका पत्रकारहरुले स्वास्थ्य अवस्थाबारे जानकारी दिन गरेको आग्रहमा उनले छोटो उत्तर दिए– मेरो स्वास्थ्य अवस्थाबारे केहि दिनमा थाहा पाइहाल्नुहुन्छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई मन्त्रिगण, सांसद तथा नेपकपाका नेता तथा कार्यकर्ताले पनि स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।


क्लिकमान्डु