२० लाख पर्यटक ल्याउने यस्तो छ सरकारको योजना, कुन देशबाट कति ल्याउने पर्यटक ?



काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकार र पर्यटनसँग सम्बन्धि मन्त्रालय, बोर्ड विभाग र समग्र पर्यटक क्षेत्र लागीपरेका छन् ।

सन् २०१८ मा जम्मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएकोमा २ वर्षमा झण्डै दोब्बर पर्यटक ल्याउनु आफैमा चुनौती हो ।

त्यसका लागि सबैले आ–आफ्नो तफबाट सक्दो योगदान गर्नका लागि पर्यटनमन्त्री योगेश भट्टराईले आग्रह समेत गरेका छन् ।

भौतिक पूर्वाधारको अभाव र स्तरीय सेवातर्फ ध्यान दिनुपर्ने पर्यटन व्यवसायीहरुको सुझावलाई ध्यानमा राख्दै त्यसका लागि अहिले तीव्रगतीमा काम भइरहेको र त्यसलाई प्राथमिकतामा राख्ने मन्त्री भट्टराईले योजना सुनाइसकेका छन् ।

भट्टराईले त्रिभुवन विमानस्थलको स्तरोन्नती, भैहरवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालन र आन्तरिक विमानस्थलको सुधारका लागि आफू लागिपरेको बताइसकेका छन् ।

त्यस्तै, नेपाल वायू सेवा निगमको नेपाल एयरलाइन्सको उडानलाई जापानसँगै चीन, साउदी अरेबिया र दक्षिण कोरियासम्म पुर्याउने लक्ष्य समेत राखेका छन् ।

त्यस्तै, भिसा शुल्क, नयाँ ट्रेकिङ रुट खोल्ने र पर्यटकलाई आकर्षित गर्नका लागि समेत नयाँ योजना ल्याउनका लागि पर्यटन व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

यसैबीच पर्यटन बोर्डले २० लाख पर्यटक कसरी पुग्छन भन्नेबारेमा आँकडा निकालेको छ । जसमध्ये कुन देशबाट कति पर्यटक नेपाल ल्याउने भन्ने अनुमानित तथ्यांक तयार पारिएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले तयार पारेको अनुमानित आँकडामा सन् २०१९ मा १५ लाख पर्यटक पुर्याउने र सन् २०२० मा २० लाख पर्यटक कसरी पुर्याउन सकिन्छ भन्ने उल्लेख छ ।

जसमा जोशीले एसिया, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका महादेशमध्येका कुन देशबाट कति ल्याउने भन्ने उल्लेख गरिएको छ । जसमा ४ वटा देशबाट मात्रै झण्डै साढे ९ लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ ।

जसमध्येमा चीन, भारत, श्रीलंका र अमेरिकालाई सबैभन्दा बढी पर्यटक आउने देशको सूचीमा राखिएको छ ।

बोर्डले भारतबाट सन् २०१८ मा २ लाख ४३८ पर्यटक आएकोमा सन् २०१९ मा २ लाख ८३ हजार ४७० पुर्याउने र सन् २०२० मा ४ लाख भारतीय पर्यटक नेपाल ल्याउने उल्लेख छ ।

साथै, दोस्रोमा चीनबाट ३ लाख ३५ हजार पर्यटक ल्याउने लक्ष्य राखेको छ । सन् २०१८ मा चीनबाट १ लाख ५३ हजार ६६४ पर्यटक आएका थिए । यो संख्यालाई सन् २०१९ मा २ लाख ३७ हजार ४०७ पुर्याउने योजना छ ।

तेस्रो नम्बरमा संयुक्त राज्य अमेरिकाबाट सन् २०२० मा १ लाख १८ हजार पर्यटक ल्याउने लक्ष्य लिएको छ । सन् २०१८ को पछिल्लो आँकडा अनुसार संयुक्त राज्य अमेरिकाबाट ९१ हजार ७८५ पर्यटक नेपा आएका थिए । भने सन् २०१९ मा यो संख्यालाई ९९ हजार ५०५ पुर्याउने लक्ष्य लिइएको छ ।

चौथो नम्बरमा श्रीलंकन पर्यटक बढ्ने अनुमान गरिएको छ । सन् २०२० मा श्रीलंकाबाट मात्रै १ लाख २ हजार पर्यटक आउने अनुमान गरिएको छ । सन् २०१८ को पछिल्लो तथ्यांक अनुसार श्रीलंकाबाट ७० हजार ६१० पर्यटक नेपाल आएका थिए । यो संख्यालाई सन् २०१९ मा ७४ हजार ५३२ पुर्याउने लक्ष्य लिइएको छ ।

त्यस्तै, अन्य विभिन्न देशबाट पनि पर्यटकको संख्या बढाएर २० लाख पर्यटक नेपाल ल्याउने महत्वकांक्षी योजना अगाडि सारिएको छ ।

पर्यटन बोर्डले तयार गरेको अनुमानित तथ्यांक

 


क्लिकमान्डु