पर्यटनमन्त्री भट्टराईले भने- भ्रमण वर्ष सफल पार्न सबैलाई टुँडिखेलमा राखेर सपथ खुवाउँछु




काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउनका लागि सबैलाई टुँडिखेलमा राखेर सपथ खुवाउने बताएका छन् ।

शुक्रबार राजधानीको मेरियड होटलमा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि आवश्यक सुझाव संकलनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रि भट्टराईले भ्रमण वर्ष सफल बनाउनका लागि सबैले आफ्नोतर्फबाट सपथ खानुपर्ने बताए ।

उनले भने, ‘सबैले मिलेर सफल बनाउने हो, त्यसका लागि आफ्नो जिम्मेवारी सम्झँदै सपथ खानुपर्छ त्यसमा प्रधानमन्त्री पनि आउनुहुन्छ ।’

भ्रमण वर्ष सुझाव अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय संयोजक सुरज वैद्यले हालसम्म सचिवालयले गरेका प्रगति र कार्य प्रस्तुत गरेका थिए । साथै पर्यटन बोर्डका अध्यक्ष दीपक जोशीले पनि भ्रमण वर्षलाई लक्षित गरी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरु जम्मा भएका थिए ।

उनीहरुले भिसा शुल्क घटाउनुपर्ने, विमानस्थल निर्माण र स्तरोन्नती, हवाई इन्धनको मूल्य घटाउनुपर्ने, नयाँ ट्रेकिङ रुट खोल्न र व्यवस्थित गर्नुपर्ने, स्वदेश र विदेशमा प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले सरकारले २० लाख पर्यटकसँगै आम्दानी पनि कति बढाउने हो त्यसलाई पनि लक्षित गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

सुझाव सुनिसकेपछि पर्यटनमन्त्री भट्टराईले पर्यटन व्यवसायी तथा स्टेकहोल्डरहरुलाई ३ दिनभित्रमा लिखित रुपमा सुझाव भ्रमण वर्षको सचिवालयमा दिन आग्रह समेत गरे । उनले भने, ‘तीन दिनभित्र लिखित सुझाव दिनुहोस, ती सुझावहरुलाई केलाएर १५ दिनभित्र खाका बनाएर फेरि प्रस्तुत गर्नेछौं ।’

उनले विदेशबाट पर्यटक ल्याउने विषयमा पनि गैरआवासीय नेपालीहरुसँग सहकार्य समेत गर्ने बताए । विदेशमा ५० लाख नेपालीहरु छन् । उनीहरुले १/१ जना मात्रै पठाए भने पनि पुग्ने उनले बताए ।

उनले भने, ‘५० लाखले नसके त्यसको आधाले मात्रै पठाउँदा पनि २५ लाख पर्यटक हुन्छन्, त्यतिले पनि नसके १ लाखलाई छनोट गरेर सबैले १०/१० जनाका दरले पठाउँदा पनि पुग्छ ।’

उनले भने, ‘विदेश पढ्न गएका विद्यार्थीले शिक्षक पढाउने, काम गर्नेले मालिक पठाउने हो भने पर्यटक आउँछन ।’ त्यसका लागि नेपालमा पनि भौतिक पूर्वाधार निर्माणमा ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने समेत उनले बताए ।

हवाई इन्धनको मूल्य निकै महंगो भएको भन्दै त्यसलाई घटाउने पर्ने सुझावलाई पनि मन्त्री भट्टराईले छलफल गरेर अगाडि बढ्ने बताए ।


क्लिकमान्डु