अपरिचित नम्बरबाट पटक-पटक फोन आउँछ ? प्राधिकरण भन्छ- त्यस्ता फोन नउठाउनुहोस्



काठमाडौं । तपाईको मोबाइल फोनमा विदेशबाट अपरिचित नम्बरबाट लगातार मिस कल आएको छ । लगातार आइरहने त्यस्ता मिस कल के होला भन्ने पक्कै पनि तपाईलाई जिज्ञासा लाग्न सक्छ ।

कतिपय अवस्थामा त विदेशमा रहेका तपाईका आफन्तले पो मिस कल पो गरे कि भन्ने पनि तपाईलाई लाग्न सक्छ ? यस्तो अवस्थामा तपाई के गर्नुहुन्छ ? पक्कै पनि कोही आफन्त समस्यामा परे कि, कुनै अप्ठ्यारो कि भयो कि भनेर तपाईले फोन फर्काउन सक्नुहुन्छ । वा त्यस्ता कल उठाउन पनि सक्नुहुन्छ ।

तपाईले त्यस्तो गर्नुभएको छ भने अबदेखि विदेशबाट आएका अपरिचित मिस कल तथा फोनको कुनै चासो नदिनुस । त्यस्तो कल पक्कै पनि अवैध फोन कल हो । त्यसले तपाइलाई समस्यामा पार्न सक्छ । तपाईको महत्वपूर्ण सूचना समेत चोर्न सक्छ । सावधानी अपनाउनु नै उत्तम विकल्प हुन सक्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भनेको छ, ‘विदेशका अपरिचित नम्बरबाट नेपालको मोबाइल टेलिफोन नम्बरमा बारम्बार मिस कल आउने गरेको देखिएको भए नउठाउनु होला ।’

प्राधिकरणले सो सम्बन्धमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ । वान रिङ स्क्याम भनिने त्यस्तो कल विगतमा पनि देखिने गरेको प्राधिकरणलाई ग्राहकले यसअघि पनि जानकारी गराएका थिए ।

अपरिचित नम्बरबाट आउने त्यस्ता मिस कलको बारेमा प्राधिकरणलाई जानकारी गराउन भनिएको छ ।

त्यस्ता कलको रोकथामका लागि आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले सेवा प्रदायकलाई आवश्यक निर्देशन दिइसकेको छ । त्यस्ता नम्बरबाट आएको फोन कलका बारेमा प्राधिकरणलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।


क्लिकमान्डु