चिनियाँ कम्पनी युनियन पेलाई नेपालमा कारोबार गर्न राष्ट्र बैंकले दियो अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले चिनियाँ भुक्ताी सेवा प्रणाली युनियन पे इन्टरनेशनललाई अनुमति दिएको छ ।

चीनको सांघाईमा केन्द्रीय कार्यालय रहेको कम्पनीले अनुमति पाएसँगै नेपालमा विद्युतीय कार्डमार्फत भुक्तानी सम्बन्धि कारोबार गर्न पाउने भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले युनियन पेले सम्पूर्ण सर्तहरु पूरा गरेकाले अनुमति दिएको जानकारी दिए । युनियन पेले नेपालका बैंकहरुसँग सहकार्य गरी कारोबार गर्नेछ ।

यसअघि अवैधानिक रुपमा कारोबार गरिरहेका चिनियाँ डिजिटल पेमेन्ट कम्पनीहरुलाई राष्ट्र बैंकले सूचना जारी गरी कारोबार बन्द गराएको थियो ।

चिनियाँ पर्यटकहरुले नेपालमा आउँदा भुक्तानी गर्दा चिनियाँ डिजिटल पेमेन्ट वीच्याट तथा अलिपेमार्फत गर्ने र रकम सोझै चीनका कम्पनीमा जाने गरेको थियो ।

जसलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले सूचना जारी गरी वैधानिक रुपमा कारोबार गर्नका लागि अनुमति लिन आग्रह गरेको थियो । त्यसपछि अलिपे, वीच्याट र युनियन पेले अनुमतिका लागि आवेदन दिएका थिए ।


क्लिकमान्डु