गभर्नरले चन्द्र ढकाललाई भनेका थिए- तपाईंले बिग मर्जरको शुरु गरिदिनु पर्यो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गरिने छ भनेर नीतिगत सम्बोधन गरेपछि वाणिज्य बैंकहरुको मर्ज गराउने सोचमा रहेको राष्ट्र बैंक आक्रमकरुपमा अघि बढ्यो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बजेटपछि सार्वजानिक कार्यक्रमहरुमा बैंकहरु मर्जर नगइ सुख नहुने भन्दै कडा भाषण गर्न थाले ।

विगतमा पुँजी बढाउँदा आफूलाई ठूलो दबाब आएको र आफूले उक्त दबाबको सामना गरेको उदाहारण दिँदै बिग मर्जरमा पनि आफू जस्तोसुकै दबाब झेल्न तयार रहेको बताउँथे ।

मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

असार लागेपछि राजधानीमा भएको एक कार्यक्रममा गभर्नर डा. नेपालले बैंकहरुलाई मौद्रिक नीति अघि नै लभ पार्न सुझाब दिएका थिए । मौद्रिक नीतिपछि बिहे गर्नुपर्ने भएकाले लभ गर्ने पर्याप्त समे नहुने भन्दै गभर्नरले मौद्रिक नीति अघि नै लभ गर्न सुझाब दिए ।

गभर्नर डा. नेपालले गत असार १२ गते बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता ल्याउन निर्देशन दिए ।

गभर्नरको निर्देशनपछि बैंकहरु धमाधम जोडी खोज्न लागि परेका छन् । डेढ दर्जन बैंकले मर्जर कमिटि गठन गरिसकेका छन् ।

गत बिहीबार सम्मा ७ वटा बैंकले मर्जर कमिटि गठन गरेर जोडी खोजिरहेको भन्दै राष्ट्र बैंकलाई पत्राचार गरिसकेका छन् । त्यसको भोलिपल्ट शुक्रबार ग्लोबल बैंकले जनता बैंकलाई मर्ज गर्न दुबै बैंकका अध्यक्षले समझदारीपत्रमा हस्ताक्षर गरे ।

बिग मर्जरको शुरुवात गर्न किन ग्लोबल आइएमइ बैंक फस्ट भयो त ? यसका पछि केही कारण छन् । गभर्नर डा. नेपालले बैंकका अध्यक्ष र सीइओहरुलाई बोलाएर मौद्रिक नीति अघि नै मर्जरको लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिए ।

ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे

तर, त्यसअघि नै गभर्नर तथा राष्ट्र बैंकका उच्च अधिकारीहरुले बैंकका अध्यक्ष, सीइओ, सञ्चालकलाई भेट्दा मर्जरमा जान भनिरहेका हुन्थे ।

यसैबीच यही असार महिनामा ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकाललाई  गभर्नर डा. नेपालले बिग मर्जरको शुरुवात गरिदिन आग्रह गरेका थिए ।

‘तपाईंसँग धेरैवटा संस्था मर्ज गरेको अनुभव छ, त्यसैले बिग मर्जरको शुरुवात तपाईंले नै गरिदिनु पर्यो,’ गभर्नरको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईंले मौद्रिक नीति अघि नै मर्जरको समझदारी गरिदिनु भयो भने हामीलाई झन सजिलो हुन्छ ।’

राष्ट्र बैंकका अधिकारीहरुको चाहना मौद्रिक नीतिअघि नै ४/५ वटा संस्थाले मर्जरको समभदारी गरिदिउन् भन्ने हो । यसरी यसरी ४/५ वटा संस्थाले मर्जरको समझदारी गरे भने राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा त्यसैलाई ब्राण्डिङ गर्ने र अरु बैंकहरुलाई थप दबाब सिर्जना गर्ने राष्ट्र बैंकका अधिकारीहरुको रणनीति छ ।

गभर्नरले आग्रह गरेपछि चन्द्र ढकालले ‘म गरेरै छाड्छु’ भनेर प्रतिवद्धता व्यक्र गरे । त्यसपछि गभर्नरसँग गरेको प्रतिवद्धता पूरा गर्न ग्लोबल बैंक जोडी खोज्न आक्रमकरुपमा प्रस्तुत भयो ।

मेगा, कुमारी, सेञ्चुरी, जनता लगायतका आधा दर्जन बैंकसँग मर्जरको छलफल गर्यो ।

जनता गाभेपछि ग्लोबल बैंक देशकै नम्बर वान, यस्ता हुन्छन् वित्तीय सूचक

कुमारी बैंकसँग अलि अघिदेखि नै ग्लोबलले मर्जरको कुराकानी गरिरहेको थियो । तर, बालुवाटार जग्गा काण्ड बाहिरिएपछि ग्लोबलसँग मर्जरका लागि इनिसिएसन लिएर कुरा गर्ने कुमारीका सञ्चालक शोभाकान्त ढकालले पदबाट राजिनामा दिए । त्यसपछि कुरा अघि बढेन ।

त्यसपछि मेगा र ग्लोबलको कुरा निकै अघि बढ्यो । तर, अन्तिममा गएर कर्मचारी समायोजनमा मेगाले ठोस डिसिजन गर्न सकेन । र, स्वाप रेसियो पनि अलि बढी मागेको ग्लोबलका लगानीकर्ताहरुको ठम्याइ थियो । ग्लोबलले मेगालाई स्वाप रेसियो ८० दिन तयार थियो भने मेगाले ९० मागेको थियो ।

त्यस अघिदेखि नै ग्लोबलले जनता बैंकसँग पनि मर्जरको कुराकानी गरिरहेको थियो । तर, जब मेगासँग ठोस रुपमा अन्तिम कुराकानी मिलेन तब ग्लोबलले जनतालाई स्वाप रेसियो ८५ प्रतिशत दिन्छु भन्दै असार १८ गते प्रस्ताब गर्यो ।

जनताका लगानीकर्तालाई ग्लोबलको यो प्रस्ताब चित्त बुझ्यो । र, उनीहरुले भोलिपल्टै हुन्छ भन्ने जवाफ दिए । अनि असार २० गते दुई बैंकबीच मर्जको समझदारी नै भयो ।

मर्जरमा ग्लोबल किन यतिधेरै आक्रमक भएको ? भन्ने क्लिकमाण्डूको प्रश्नमा बैंकका अध्यक्ष चन्द्र ढकाल भन्छन्, ‘हामीसँग यअिघि पनि एक वाणिज्य बैंकसहित झन्डै दर्जन संस्था मर्जर गरेर सफलतापूर्वक अघि बढेको अनुभव छ । त्यसैले ठूलो बैंक मर्ज गरेर सहज व्यवस्थापन गर्दै अघि बढ्न सकिन्छ भन्ने आँट पनि छ ।’

राष्ट्र बैंकका अधिकारीहरुले बिग मर्जरको शुरुवात गरिदिन आगह गरेको ढकाल स्वीकार गर्छन् ।

‘नियामक निकाय राष्ट्र बैंकबाट पनि ग्लोबलले बिग मर्जरको शुरुवात गरिदिनु पर्यो भन्ने आग्रह आयो, त्यसपछि हामी अझ बढी आक्रमक भएका हौं,’ ढकालले भने ।

ग्लोबल र जनताको मर्जरमा राष्ट्र बैंकको आग्रह मात्रै होइन, अर्थमन्त्री डा. खतिवडाको साथ पनि छ । अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडाको जनता बैंकका लगानी छ । उनी पहिले बैंकको सूचनाप्रविधि विभागमा काम गर्थे भने अहिले ब्राञ्च म्यानेजर छन् ।

जनता बैंकका तत्कालीन एमालेका ठूलादेखि साना नेताहरुको लगानी छ ।

‘ग्लोबल र जनताको मर्जरमा अर्थमन्त्रीको पनि केही न केही हात छ,’ स्रोतको दाबी छ, ‘अर्थमन्त्री खतिवडाको लगानी रहेको जनता बैंक अर्थमन्त्रीको पहलबिना सबैभन्दा पहिला बिग मर्जरमा जाँदैन थियो ।’

अर्थमन्त्री खतिवडा पनि बिग मर्जरको पक्षमा रहेकाले जनता बैंकका लगानीकर्ताहरुलाई उनले मर्जरमा जान सुझाब दिएका थिए ।

‘अर्थमन्त्रीज्यूसँग भेट्दा उहाँले तपाईंहरुले पहिला मर्ज गरेर देखाउनु पर्यो, सरकारको नीतिलाई सहयोग गर्नुपरो भन्नुभएको चाहीँ हो,’ जनता बैंक स्रोतले भन्यो, ‘यसलाई हामीले शुभेच्छा भनेर बुझेका छौं ।’


पुष्प दुलाल