डिजिटल गिफ्टका नाममा यसरी ठगिँदैछन् टिकटक फ्यान



काठमाडौं । पछिल्लो समय टिकटक चलाउने युवा फ्यानहरु डिजिटल गिफ्टका नाममा शोषणमा परेका छन । भिडियो शेयरिङ एप टिकटकले यसबाट केहि बच्चा र युवाहरु शोषित भएकोमा क्षमा मागेको छ ।

टिकटकले फ्यानहरुलाई आफ्नो मनपर्ने भिडियोमेकरलाई डिजिटल गिफ्ट पठाउने सुविधा दिन्छ जसलाई ४८.९९ अमेरिकि डलर सम्म पर्न सक्छ ।

बिबिसीले गरेको एक अनुसन्धानले भिडियो बनाउने प्रभावकर्ताहरुले आफ्ना फ्यानहरुलाई गिफ्ट पठाएबापत फोन नम्बर दिने आश्वासन दिएको भेटिएको छ ।

यसै विषयलाई लिएर टिकटकले आफ्नो पोलिसी र गाइडलाइन बलियो बनाउने बताएको छ तर ठयाक्कै कस्तो परिवर्तन गर्ने भन्नेबारे खुलाएको छैन ।

क्लेर (नाम परिवर्तन) ले बिबिसीलाई भनिन्– ‘मैले मलाई मनर्पे टिकटक स्टारको फोन नम्बर पाउने आशमा एक सय युरो डलर खर्च गरे तर उसले कहिल्यै फोन उठाउँदैन, म अहिले पछुताएकी छु ।’

उनले टिकटक स्टार सेवास्टियन मोयलाई उसले बनाएको भिडियोलाई प्रशंसा स्वरुप ४८.९९ युरो डलर पर्ने ड्रामा क्विन गिफ्ट पठाएकि थिइन ।

टिकटकले जनाए अनुसार यो एप १६ देखि २४ वर्ष समुहका युवाहरुमा निकै लोकप्रिय छ तर यसमा १३ वर्ष मुनिका धेरै बालकहरु समेत प्रयोगकर्ता रहेको पुष्टि भएको छ । यस कम्पनीले अभिभावकको अनुमतिविना १३ वर्ष मुनिका बच्चाहरुको व्यक्तिगत विबरण प्रयोग गरेको आरोपमा ५.७ मिलियन अमेरिकि डलर जरिवाना तिरिसकेको छ ।

अहिले डिजिटल गिफ्टका नाममा धेरै प्रयोगकर्ताहरु शोषणमा परेको गुनासो आएको छ भने यसबारे अनुसन्धान गर्ने टिकटकले बताएको छ ।

यस्तो शोषणबारे टिकटक स्टारहरुलाई सम्पर्क गरी बुझ्ने प्रयास भएपनि उनीहरुले कुनै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ ।


पुष्प दुलाल