मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव ‘बिग मर्जर’मा जान छुट चाहियो (सुझावसहित)



काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई ‘बिग मर्जर’मा जानको लागि छुट माग गरेको छ ।

संघले राष्ट्र बैंकलाई मौद्रिक नीतिमा उल्लेख गर्नुपर्ने विषयमा सुझाव पठाउदै राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक मर्जरमा जादा छुट सुविधा आवश्यक भएको उल्लेख गरेको छ ।

‘राष्ट्र बैंकबाट तोकिएको रेट,रेसियो र प्रोटफोलियामा सुविधा चाहिन्छ,’संघले सुझाव पठाउदै भनेको छ ।

बैकर्स संघले बजेट अगाडि अर्थमन्त्रालयलाई पठाएको सुझावमा वाणिज्य बैंकहरु मर्ज भएमा निश्चित अवधीसम्मको लागि आयकरमा छुट मागेको थियो ।
यद्यपी अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटमा वाणिज्य बैंकहरुबीच हुने मर्जरलाई आवश्यक प्रोत्साहन गरिने उल्लेख गरेपनि संघले मागे अनुसारको कर छुट भने दिएनन् ।

संघले बैंकिङ प्रणालीमा पछिल्लो समय देखिएको तरलता समस्या समाधानको लागि तरलता बण्ड जारी गर्नुपर्ने सुझाव दिएको दिएको छ ।

‘अहिले पुँजीसँग मात्र सम्बन्धित बण्डहरु समावेश गरिएको हुँदा,तरलता व्यवस्थापनको लागि तरलता बण्ड जारी गर्नुपर्छ,’संघले दिएको सुझावमा भनिएको छ । अन्तराष्ट्रिय अभ्यास अनुसार तरलता बण्ड जारी गर्नुपर्ने सुझाव संघले दिएको छ ।

संघले अहिलेको सीसीडी रेसियोलाई परिवर्तन गर्नको लागि कृषिमा दिने कर्जालाई त्यसमा गणना गर्न नहुँने माग गरेको छ ।

‘३ तहको निर्वाचनपछि कर्जाको माग अत्याधिक बढेको छ,अहिलेको सीसीडीको व्यवस्था परिवर्तन गर्नको लागि कृषिमा दिएको ऋणलाई सीसीडी गणना विधीबाट हटाउनुपर्छ,’संघले सुझावमा भनेको छ ।

यस्तै राष्ट्र बैंकले तोके अनुसार कृषिमा कर्जा नगएमा त्यस्तो रकमलाई सरकारी ऋणपत्रमा लगानी गर्न दिनुपर्ने सुझाव दिएको छ ।

कृषि कर्जाको परिभाषा परिवर्तन हुनुपर्ने माग संघले राखेको छ ।

पुनरकर्जालाई सहुलियत दिनुपर्ने माग राख्दै संघले ६ महिनाको व्यवस्थालाई परिवर्तन गर्नुपर्ने जनाएको छ ।


क्लिकमान्डु