राष्ट्र बैंकबाट अवकास पाएको एक साता नहुँदै नारायण पौडेल प्रभु लाइफको सिइओ नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएको एक साता नहुँदै नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

राष्ट्र बैंक ऐनको दफा १०६ को ‘क’ मा  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा कार्यकारी निर्देशकलाई राष्ट्र बैंकबाट अवकास पाएको ३ वर्षसम्म सरकारी लगानीको बाहेक निजी बैंक तथा वित्तीय संस्थामा जान कानूनले रोक लगाएको छ ।

तर, बीमा कम्पनीमा जान भने रोक छैन । नेपालमा भने एउटै समुहले नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी चलाउने गर्छन् ।

पौडेल राष्ट्र बैंकको शक्तिशाली बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख थिए । पौडेल यही जेठ २६ गते मात्रै राष्ट्र बैंकको नियमन विभागको कार्यकारी निर्देशक पदबाट ३० वर्षे सेवा अवधिका कारण अवकास पाएका थिए ।

पौडेल जान लागेको प्रभु समूहको प्रभु बैंक पनि छ । प्रभु समूहले नै प्रवर्द्धन गरेको प्रभु लाइफ इन्स्योरेन्सको सिइओमा पौडेल नियुक्त भएका हुन् ।

प्रभु स्रोतका अनुसार पौडेल असारको पहिलो साताबाट काम गर्ने आउने गरेर सिइओ नियुक्त भएका हुन् ।

प्रभु लाइफ इन्स्योरेन्समा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको पद खाली थियो । निमित्तको भरमा प्रभु लाइफ इन्स्योरेन्स संचालनमा थियो ।

राष्ट्र बैंकबाट अवकास पाएको एकसातामै प्रभु लाइफको सिइओ बन्न लाग्नु भयो नि भनेर क्लिकमाण्डूले गरेको प्रश्नमा भने पौडेलले भने, ‘नियुक्तीको प्रक्रिया अगाडि बढेपनि टुंगो लागेको छैन, कुराकानी चल्दै छ ।’

तर, प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले पौडेललाई नियुक्ति गरेर अनुमतिका लागि बीमा समितिमा पठाइसकेको छ ।

‘पौडेलजी नियुक्ति हुनुभयो भन्ने खबर प्राप्त भएको छ,’ बीमा समिति स्रोतले भन्यो ।

बीमा समितिले अनुमति दिएपछि मात्रै पौडेलले सीइओको पदभार सम्हाल्नेछन् । बीमा समितिको अध्यक्षमा पनि राष्ट्र बैंक  पौडेल कार्यकारी निर्देशक हुँदा निर्देशक रहेकाका चिरञ्जीबी चापागाईं छन् ।


क्लिकमान्डु