३० वर्षे हटाउने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले लिएन



काठमडौं । ३० वर्षे सेवा अवधि हटाउनेबारे निर्णय गर्न बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । शुक्रबार रातिसम्म बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बिना निर्णय टुंगिएको हो ।

सर्वोच्च अदालतको फैसलापछि शुक्रबार बसेको सञ्चालक समितिको बैठकले निर्णय लिनु अघि थप अध्ययन गर्नुपर्ने भएको भन्दै आज बिना निश्कर्ष बैठक टुंगाएको हो ।

‘अदालतको फैसलापछि थप केही अध्ययनपछि मात्रै निर्णय गर्नुपर्ने भएकाले आज निर्णय नगरिएको हो’ राष्ट्र बैंक सञ्चालक समितिका एक सदस्यले भने ।

राष्ट्र बैंकले दोहोरो अवकास नीति हटाउँदै ५८ वर्षे नीति लागू गर्न खोजेको थियो । जसका लागि लोकसेवा आयोगसँग राय माग गरेको थियो ।

तर लोकसेवा आयोगले संघीय निजामति ऐन बन्ने क्रममा रहेको र सो ऐन आएपछि सोही बमोजिम निर्णय लिन सुझाव दिएको थियो । त्यसपछि राष्ट्र बैंकका कर्मचारीहरु सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्च अदालतले गत मंसिर १८ गते यसबारेमा निर्णय लिन राष्ट्र बैंक स्वायत्त रहेको भन्दै लोकसेवा आयोगको निर्णय पर्खन नपर्ने फैसला गरेको थियो । जसको पूर्णपाठ केही दिन अगाडि मात्रै सर्वोच्चले सार्वजनिक गर्दै ३० वर्षे सेवा अवधि हटाउका लागि लोकसेवाको परामर्श लिनु जरुरी नभएको निचोड निकालेको थियो ।

राष्ट्र बैंकले ३० वर्षे अवधि हटाउने निर्णय लिएमा चार जना कार्यकारी निर्देशकहरुको अवधि थप थियो ।

तर निर्णय नहुँदा नारायण पौडेल, नरबहादुर थापा, भिष्मराज ढुंगाना र भरतराज शर्मा शुक्रबारदेखि अनिवार्य अवकास पाएका छन् ।


क्लिकमान्डु