अर्थमन्त्री खतिवडाले भने- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण नपाए भन्नुहोस हामी छौं
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो रोखेर कर्जा लिन चाहनेहरुले आफै तयार हुनुपर्ने बताएका छन् । शैक्षिक प्रमाण पत्र धितो राखेर सहज तरिकाले ऋण लिन पाउने व्यवस्था गरे पनि मानिसहरु जागरुक नभएको उनको भनाइ थियो ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले भने ‘ऋण लिनका लागि तोकिएको बैंक तथा वित्तीय संस्थामा जान सकिने व्यवस्था छ, तर अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिन जाँदा उनीहरुले ऋण नपाएको गुनासो आएको छैन, त्यस्तो गुनासो आयो भने हामी हेर्छौ ।’
उनले सरकारबाट एक रुपैयाँ अनुदान लिँदा एक रुपैयाँ कर पनि तिर्नुपर्ने स्पष्ट पारे । अहिले नै सरकारले अहिले करको दर थप बढाउन सकिने अवस्था नरहेको समेत बताए ।
संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले महाकाली करिडोरमा बजेट विनियोजन गर्ने विषयमा आफ्नो ध्यान गएको जवाफ दिए । उनले लामो समयदेखि जुटमिल बिरामी परेको र त्यसलाई पुनतार्जगी दिने, रुग्ण उद्योगलाई कसरी उठाउने भन्ने विषयमा सरकारले ध्यान दिएको स्पष्ट पारे ।
‘निजीकरणले थलिएका उद्योग ब्यूताउँन सरकारले पुर्नबिचार गर्दैछ’ उनले भने ।
‘अहिले केही व्यक्तिले रोजगारी पाउनेको संख्या २८ हजार भन्ने कसैले ५० हजार भन्नुहुन्छ’, मन्त्री खतिवडाले प्रश्न गरे ‘त्यो तथ्याङक कहाँबट ल्याउनु भयो ?’ उनले प्रश्न गरे ।
देशमा कतिले रोजगारी पाएभन्ने कुरा आर्थिक बृद्धिले देखाउने भन्दै अहिले चर्चामा रहेको भन्दा बढीले नै रोजगारी पाएको दाबी गरे ।
सरकारले कामदारको प्यान अनिवार्य गर्नुपर्छ भनेपछि केहीलाई समस्या परेको बताउँदै उनले नेपालमा विदेशी कामदार भएर समस्या भएको र उनीहरुले प्यान लिने विषयमा समस्या देखिएको बताए ।
नेपालको निर्माण क्षेत्रमा कामदार नपाइने र आवश्यक कामदार सबै विदेश जाने गरेकोले समस्या सिर्जना भएको उनको बुझाइ छ । अहिले सरकारले सबै स्थानीय तहको सूचना संकलन गरिरहेको र कहाँ कति बेरोजगार भन्ने छिट्टै सही तथ्यांक बाहिर आउने उनले जानकारी दिए ।
सांसदको प्रश्नको जवाफ दिँदै खतिवडाले बजारका आधारमा ब्याजदरलाई छोडेको बताए । उनले भने, ‘अहिले बैंकहरु आफै संयम भएका छन् । आगामी दिनमा कर्जा र निक्षेपको ब्याज घट्दै जानेछ ।’
यस्तै मन्त्री खतिवडाले सहकारी क्षेत्रमा विकृती भएको स्वीकार गर्दै सहकारीमा विकृत भयो भन्दैमा प्रणाली त्याग्न नमिल्ने भएकाले आगामी दिनमा सच्याउँदै लैजाने बताए । सहकारी क्षेत्रलाई अनुगमन गरी मापदण्डअनुसार चलाउन बाध्य पार्ने बताए । उनले भने, ‘नराम्रो भयो भन्दैमा छोडेर हिड्यो भने गन्तव्यमा पुँगिँदैन ।’