कति छ पशुपतिनाथ मन्दिरको सम्पत्ति ?
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको सम्पत्ति तथा गुठी जग्गाको विवरण सार्वजनिक गरेको छ । यसका लागि छानविन समिति गठन गरी अध्ययन गरिएको थियो ।
सार्वजनिक विवरणअनुसार पशुपति मन्दिरको नाममा १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ ५२ पैसा सम्पत्ति छ । त्यस्तै, ८९.५६ तोला सुन र १ लाख ४१ हजार १२८.७५ ग्राम सुन र चाँदी र जिन्सी समेत देखिएको छ ।
त्यस्तै, अचल सम्पत्तिको रुपमा ६ हजार ७ सय रोपनी जग्गा पनि छ ।
कोषमा दर्ता भएको मन्दिरको संरक्षण तथा गुठीको जग्गा ३ हजार ६६७ रोपनी ४ आना ३ दाम छ भने २३१ रोपनी १० आना १ पैसा दर्ता हुन बाँकी जग्गा छ ।
यसका साथै पशुपति विकास कोषकै १ हजार १६१ रोपनी १४ आना ३ दाम क्षेत्रफल जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र गल्फ कोर्सलाई ९९ वर्षका लागि भाडामा दिइएको छ ।
त्यस्तै, १७ रोपनी जग्गा मोहीका रुपमा तारागाउँ रिजेन्सी होटलले भोगचलन गर्दै आएको छ ।