आप्काको बैठकमा भाग लिन जापान गए डेपुटी गभर्नर श्रेष्ठ, टेक्निकल सेसनको अध्यक्षता गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मंगलबार जापान प्रस्थान गरेका छन् । एशिया प्यासिफिक रुलर एण्ड एग्रिकल्चर क्रेडिट एशोसिएशन (आप्का) को वार्षिक बैठकमा भाग लिन श्रेष्ठ जापान प्रस्थान गरेका हुन् ।
यही जुन ६ र ७ तारिकमा जापानको टोकियोमा आप्काको वार्षिक बैठक हुँदैछ । गत डिसेम्बरसम्म आप्काको अध्यक्ष रहेका डेपुटी गभर्नर श्रेष्ठ निवर्तमान अध्यक्ष तथा सञ्चालकको हैसियतमा बैठकमा सहभागी हुनेछन् ।
२२ देशका ९० वटा बैंक तथा वित्तीय संस्था आप्काको सदस्य छन् । नेपालबाट मात्रै कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त, साना किसान विकास बैंक, सहकारी बैंक र लघुवित्त एशोसिएशन आप्काको सदस्य छन् ।
आप्का कृषि र ग्रामिण तथा एसएमइ कर्जाको क्षेत्रमा काम गर्ने संस्था हो ।
‘यो क्षेत्रको विषयमा कृषि र ग्रामिण तथा एसएमइ कर्जाको अवस्था के छ र कस्तो रणनीति अबलम्कन गर्ने भनेर आप्कामा छलफल हुन्छ,’ डेपुटी गभर्नर श्रेष्ठले भने ।
श्रेष्ठले वार्षिक साधारणसभामा हुने एक टेक्निकल सेसनको अध्यक्षता गर्नेछन् ।
‘वातावरणीय प्रभावका बाबजुत पनि बैंक तथा वित्रीय संस्थाहरुले कसरी काम गर्ने र कसरी सस्टेनेवल बैंकिङ गर्ने भन्नेबारे छलफल हुनेछ,’ उनले भने ।
जापानको उक्त कार्यक्रम सकेर श्रेष्ठ अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सार्कको बैठकमा सहभागी हुन माल्दिभ्स जाने कार्यक्रम छ । माल्दिभ्समा हुने आइएमएफको कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले सञ्चालकको रुपमा सभागिता जनाउने छन् । उक्त बैठकमा अर्थ मन्त्रालयका सहसचिव प्रेम राय वैकल्पिक सञ्चालकको रुपमा सहभागिता जनाउने छन् ।
आइएमएफको उक्त वार्षिक बैठकले यो क्षेत्रको बजेट पारित गर्नेछ ।
‘नेपालले आगामी आर्थिक वर्षमा आइएमएफबाट के कस्तो प्रावधिक सहायता प्राप्त गर्छ भन्ने कुरा उक्त बैठकले निर्धारण गर्नेछ,’ श्रेष्ठले भने ।