मेलम्ची र तामाकोशीले बगायो अर्थमन्त्री खतिवडाको लक्ष्य



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका समयमै पुरा नहुँदा यो वर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नभएको बताएका छन् ।

मन्त्री खतिवडाले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएका थिए । तर, ७ प्रतिशत मात्र बृद्धिदर हासिल भएको अर्थमन्त्रीले संघीय संसद्मा जानकारी दिएका छन् ।

‘यो वर्ष साढे ८ प्रतिशतको लक्ष्य पुरा हुन्छ, मूल्य वृद्धि पनि ६ प्रतिशतभन्दा माथि जाँदैन,’ खतिवडाले भने ।

‘मेलम्ची र तामाकोशी बनिसक्छ भनेर ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थिएँ,’ अर्थ मन्त्रालयका बिहीबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘तर, ती आयोजना नबन्दा लक्ष्य प्राप्त हुन सकेन ।’

खतिवडाले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेपछि पूर्वअर्थमन्त्री डा. रामशरण महतले यो अति महत्वाकांक्षी लक्ष्य भएको भन्दै कुनैपनि हालतमा पूरा हुन नसक्ने दाबी गरेका थिए ।

त्यसको जवाफमा खतिवडाले भनेका थिए, ‘डा. महत मेरो गुरु पनि हुनुहुन्छ, धेरै पटक अर्थमन्त्री भइसकेको व्यक्ति पनि हो, म उहाँलाई सफल बनाउनकै लागि भएपनि ७.९ प्रतिशतको मात्रै आर्थिक वृद्धि हासिल गर्छु ।’

तर, दुई पटक संसोधन गरेर पछिल्लो समय जम्मा ७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने अर्थमन्त्री खतिवडाले बताउँदै आएका छन् ।

मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा ८.५ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने झन महत्वाकांक्षी लक्ष्य लिएका छन् ।

‘यो वर्ष साढे ८ प्रतिशतको लक्ष्य पुरा हुन्छ, मूल्य वृद्धि पनि ६ प्रतिशतभन्दा माथि जाँदैन,’ उनले भने ।

खतिवडाले पूँजीगत खर्चलाई बढाउने र काम सम्पन्न भएपछि पनि भुक्तानी नहुँने समस्यालाई हटाउने जानकारी दिए ।


क्लिकमान्डु