अनलाइन पेमेन्ट कम्पनी सेलपेको ब्राण्ड एम्ब्यासडरमा महजोडी



काठमाडौं । सेलपेको ब्राण्ड एम्ब्यासडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्राण्ड एम्ब्यासडरका रुपमा आइतबार महजोडी नियुक्त गरिएको हो ।

सेलकमले सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नम्बर हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा सुरु गरेको थियो । यही कम्पनीले सेवामा स्तरोन्नति गर्दै सेलपे शुरुवात गर्न लागेको हो ।

भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवासहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए ।
सेलपे अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा सेलपेको सुरुवात गर्न लागेको हो । सेवाग्राहीले सेलपेमा वालेट बनाउन नपर्ने उनले बताए ।

यस्ता छन् विशेषता
सेलपे सेवा मोबाइल तथा वेव एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपेमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै नीजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो । नीजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

विक्रेताहरुको हकमा आफ्नो व्यवसाय सेलपेमा आबद्ध गरी ग्राहकले सेलपेमार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्कभन्दा न्यून शुल्कमा सेलपे सेवा प्राप्त हुने कम्पनीको दाबी छ ।


क्लिकमान्डु