एनआइसी एसिया बैंकले महोत्तरीमा सुरु गर्यो शाखारहित बैंकिङ सेवा



काठमाडौं । एनआईसी एसिया बैंकले महोत्तरीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा बैंकले आफ्नो २८ औं शाखारहित बैंकिङ सेवा जेठ १० गतेदेखि सुरु गरेको हो । शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख श्री विवेक बन्धु न्यौपानेले गरे ।

बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्री उमेशकुमार यादवलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ । करिब १६ लाख ग्राहक रहेको बैंकको वासलात रू. २११ अर्ब भन्दाबढी पुगेको छ ।

बैंकको कुल निक्षेप करिब रू. १६९ अर्ब र कुल कर्जा करिब रू. १४४ अर्ब रहेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु