अमेरिका र चीनको व्यापार युद्धको असर गुगल, हुवावे र एप्पलमा, प्रयोगकर्तालाई कस्तो पर्छ घाटा ?



विश्वमानचित्रमा विपरीत गोलार्धमा रहेका प्रभुत्वशाली देश चीन र अमेरिकाबीचको व्यापार युद्ध चरम अवस्थामा पुग्दा यसको मारमा प्रविधिको क्षेत्रका २ ठूला कम्पनी गुगल र हुवावेलाई परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको तेस्रो ठूलो मोबाइल कम्पनी हुवावेलाई कालो सूचीमा राखेपछि अमेरिकी कम्पनी गुगलले हुवावेसँग सबैखाले प्रडक्टमा रोक लगाएपछि यसको असर विश्वभर छरिएका हुवावे मोबाइल प्रयोगकर्तामा परेको छ ।

हुवावे विश्वको सबैभन्दा ठूलो मोबाइल उपकरण उत्पादन कम्पनी हो । जसको पहुँच विश्वबजारमा निकै ठूलो छ । अमेरिकी सरकारले हुवावेको फोनबाट जासुसी भइरहेको आरोप लगाएको थियो । तर यो आरोप हुवावेले अस्वीकार गर्दै आएको छ ।

त्यतिमात्रै होइन, गत वर्ष अमेरिकाको अनुरोधमा हुवावेकी संस्थापक कि छोरी तथा कम्पनीकी सीएफओ मेग वाङझु पक्राउ परेकी थिइन् । अहिले उनी जमानतमा छिन् । अहिले अमेरिकाले क्यानडाबाट मेगलाई सुपुदर्गीको प्रयास गरिरहेको छ । हुवावेलाई अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध तोडेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

हुवावेले गुगलको ओपन सोर्स लाइसेन्सको माध्यमबाट उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टमका भर्सन प्रयोग गर्न सक्छ । नतिजा, हुवावेका प्रयोगकर्ताले एन्ड्रोइडको नयाँ भर्सन प्रयोग गर्न पाउने छैनन् । अहिले एन्ड्रोइडको भर्सन ९.० र यसका अपडेटहरु निरन्तर नै आउनेछन् । तर अब बन्ने मोबाइल सेटमा गुगलका भर्सनहरु उपलब्ध हुने छैनन् ।

यसले हुवावेलाई मात्रै असर गर्दैन् । गुगललाई पनि उत्तिकै असर गर्छ । यदि यो अवस्था कायम नै रह्यो भने गुगलले हुवावेका सेटमा प्रडक्ट बिक्री र विज्ञापनबाट पाउने अर्बौ डलर घाटा लाग्नेछ । त्यसैले बेफाइदा दुबैतर्फ हुन्छ । हुवावेले अमेरिकामा आफना मोबाइल सेट बिक्री गर्न पाउने छैन् भने गुगलले पनि विश्वबजारमा फैलिएको हुवावेको पहुँचबाट लिनसक्ने फाइदाबाट बञ्चित हुनेछ ।

अहिले गुगलले हुवावेलाई ९० दिनका लागि मात्रै लाइसेन्स दिएको छ । त्यसको जवाफ दिँदै हुवावेले यसबाट आफूहरुलाई ठूलो असर नपर्ने बताइसकेको छ । चीनमा मिडियाहरुसँग कुरा गर्दै कम्पनीका सिइओ रेन जेनफिया ले यसबाट असर परे पनि ठूलो असर भने नपर्ने बताए । उनले फाइभ जीमा असर नपर्ने बताए ।

हुवावेले ९० दिनपछि पनि यो निर्णय फिर्ता नलिएको अवस्थामा आफूहरु आफ्नो अपरेटिङ सिस्टम बनाउने समेत बताइसकेको छ । गुगल र माइक्रोसफ्टसँग सहकार्य तोडिएको अवस्थामा आफूहरु हुवावे कै नयाँ अपरेटिङ सिस्टम बनाउन बाध्य हुने घोषणा हुवावेले गरिसकेको छ ।

स्मार्टफोनको दुनियाँमा हुवावेको मोबाइल फोनको बिक्री निकै बढेको छ । हाल विश्वभर हुवावेका मोबाइल सेटको संख्या २०० मिलियन छ । यो संख्या गत एक वर्षमा ४१ प्रतिशतले बढेको थियो । जसकाकारण हुवावे स्मार्टफोनको बजारमा दोस्रो नम्बरमा आएको थियो । जसले एप्पलको बिक्रीलाई पनि पछाडि पारेको थियो ।

दुई देशबीचको व्यापार युद्धको चपेटामा जसरी गुगल र हुवावे परेका छन् उसैगरी चीनले एप्पलमाथि पनि प्रतिबन्ध लगाइसकेको छ । दुई देशबीचको व्यापार युद्धले ठूला कम्पनी मारमा परेका छन् ।

गत वर्ष चीनमा एप्पल फोनको बजार पाँचौ स्थानमा ९.१ प्रतिशत थियो । तर यो संख्या यस वर्षको पहिलो चार महिनामा भने घटेर ७.१ प्रतिशतमा पुगेको छ । धेरै चिनियाँ प्रयोगकर्ताहरु आइफोनको साटो सस्तो र राम्रो भनिएको हुवावे प्रयोग गर्न थालिसकेका छन् । भने एक वर्षको अवधिमा चीनमा हुवावेले एप्पलको ३ प्रतिशत बजार ओगटिसकेको छ ।

बढ्दो तनावका बीच चीनले हुवावेलाई सहयोग गर्दै एप्पल फोनबारे अमेरिकाले हुवावेलाई गरेको जस्तो निर्णय गर्न सक्नेतर्फ पनि धेरैले आँकलन गरेका छन् ।


क्लिकमान्डु