बहस: सरकारी कर्मचारीलाई कति तलब भए पुग्छ ?



काठमाडौं । प्रत्येक वर्ष बजेट आउने बेलामा सरकारी कर्मचारीहरु तलबभत्ता बढाउनु पर्ने माग राख्दै तीब्र लबिङ गर्छन् । अहिले पनि कर्मचारीहरु प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर तलब/भत्ता बढाउन तीब्र लबिङ गरिरहेका छन् ।

३ वर्षदेखि कर्मचारीको तलब नबढेकाले आगामी बजेटले तलब बढाउने पक्कापक्की जस्तै छ ।

जहिल्यै तलब/भत्ताले पुगेन भन्ने निजामति कर्मचारीका नेतालाई हामीले सोधेका थियौं ? तपाईंहरुलाई कति तलब भए पुग्छ ? यही प्रश्न पूर्वमूख्य सचिव र अर्थसचिवलाई पनि सोधेका थियौं ।

कर्मचारी संगठनका नेता भोलानाथ पोखरेल अहिलेको सरकारी तलबले जिबीकोपार्जन नै गर्न कठिन भएकाले सरकारले आफ्ना कर्मचारीलाई सामान्न जिबन धान्नसक्ने गरीको तलब बढाउनु पर्ने बताउँछन् । पोखरेलका अनुसार पियनको तलब ३५ भएमात्रै उसले सामान्य जिबीको पाजर्न गर्न सक्छ ।

तर, पोखरेलको यो तर्कमा पूर्वअर्थसचिव रामेश्वर खनाल समहत छैनन् । औषत नेपाली नागरिकको भन्दा अहिले पनि सरकारी कर्मचारीहरुको जिबनस्तर उच्च छ । त्यसैले त्यो देशका नागरिकहरुको कस्तो जिबनस्तर छ भनेर हेर्नुपर्ने उनको भनाइ छ ।

‘कर्मचारीको तलबले जिबिकोपार्जन गर्न पुग्छ, देशको आर्थिक अवस्था राम्रो भएको भए कर्मचारीको तलब पनि राम्रैसँग बढाउँदा हुन्थ्यो, तर देशको अवस्था नै खराब भएको बेला कर्मचारीको तलब मात्रै बढाउने कुरा युक्तिसंगत होइन ।’

पूर्वमूख्य सचिब बिमल कोइराला निजामती कर्मचारीको तलब कम भएको बताउँदै बढाउनु पर्ने तर्क राख्नछन् ।

‘नेपालका निजामति कर्मचारीको तलब सार्कमै कम छ, बढाउनु पर्छ तर तलब बढाउन सक्ने फिस्कल स्पेस छ कि छैन भनेर हेर्नु जरुरी छ,’ कोइराला भन्छन् ।

कोइराला, खनाल र पोखरेलको धारणा उनीहरुकै शब्दमा ।

रामेश्वर खनाल

साँच्चै भन्ने हो भने मलाई सरकारले दिएको तलबले पुगेको छ । नेपालमा सरकारी तलब नराम्रो छैन । निजी क्षेत्रले अहिले पनि १४ हजार रुपैयाँ दिन्छ । सरकारी पियनले नै २० हजार बढी थाप्छन् । कर्मचारीको तलब कति हुनुपर्छ भन्ने कुरा अन्य देशसँग तुलना गरेर भन्नु हुँदैन । हाम्रो आफ्नो अवस्था हेर्नुपर्छ । औषत नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख ४ हजार रुपैयाँ छ । नेपालको एक परिवारमा औषतमा साढे ३ जना छन् भन्ने तथ्यांक छ ।

यो हिसाबमा हेर्दा कर्मचारीको तलब बढाउनु पर्ने औचित्य देखिँदैन । सरकारले राजस्वको बढीमा ५०/५५ प्रतिशतसम्म कर्मचारी खर्च गर्न सक्छ । १० खर्बको राजस्व उठाउँदा साढे ५ खर्ब जति कर्मचारी खर्च गर्न सकिन्छ । त्यहाँभन्दा बढी जानु हुँदैन । कर्मचारीको तलब बढाउनु अघि हामीसँग फिस्कल स्पेस छ कि छैन भनेर हेर्नुपर्छ ।

आम सर्वसाधारणको भन्दा कर्मचारीको लिभिङ स्ट्यान्डर्ड राम्रो हुनु पनि राम्रो हुँदैन । निजामति कर्मचारी हुँ भन्दैमा घरमा वासिङ मेसिन चाहिने, महंगो टिभी चाहिन्छ भन्नु त भएन नि । सेनाले दिनमा ४ हजार क्यालोरी खान्छ । प्रहरीले ३ हजार क्यालोरी खान्छ । सामान्य नेपालीले २१ सय क्यालोरी पनि खान पाउँदैन । त्यसैले आम कर्मचारी कसरी बाँचिरहेका छन् भनेर हेर्नुपर्ने हुन्छ । यद्यपि आजको दिनमा कर्मचारीको तलब १२/१५ प्रतिशतले बढाउँदा हुन्छ ।

तलब कम भएका कारण कर्मचारीहरु भ्रष्टचारमा लिप्त भए भन्ने कुरा म मान्दिन । विश्वमा भएको एउटा सर्बेक्षणले पनि यो प्रमाणित गरेको कुरा हो । पैसा कम भएका भन्दा पैसा बढी भएका मान्छेहरु बढी भ्रष्ट हुन्छन् भन्ने कुराका धेरै उदाहारण दिन सकिन्छ ।

बिमल कोइराला

नेपालका कर्मचारीहरुको तलब कम हो । तर पिस्कल सिचुएसन यस्तो छ कि तलब बढाउने अवस्था छैन । गाडी लगायतका विलासीतामा भएको खर्र्च र भत्ता अनि विदेश भ्रमणमा खर्च हुने रकम कटौति गर्ने हो भने कर्मचारीको तलब राम्रैसँग बढाउन सकिन्छ । सरकारी कर्मचारी भ्रष्ट हुनुको एउटा कारण चाहीँ तलब कम हुनु पनि हो । ४ जनाको परिवार धान्न सक्ने तलब हुनुपर्छ । मेरो बिचारमा आजको दिनमा कर्मचारीको आधारभूत तलब ३५ हजार हुनु उपयुक्त हुन्छ ।

भोलानाथ पोखरेल

हामीले क्यालोरी पूर्ति गर्न आधारभूत गर्नका लागि कम्तिमा ३५ हजार तलब चाहिन्छ भनेका हौं । आन्तरिक इनर्जी नभई कन बाह्य इनर्जी हुँदैन । सरकारले अहिले दिएको तलबले जिबिकोपार्जन गर्नसमेत पुग्दैन । जसकारण कर्मचारीहरुका भ्रष्टचार गर्न बाध्य छन् ।

सरकारको शुसासन र सम्मृद्धिको नारा सफल बनाउने हो भने कर्मचारी सन्तुष्ट र खुसी हुनै पर्छ । सरकारी कर्मचारी भनेको देशको इज्जत पनि हो । जहिलेसम्म सरकारी कर्मचारीहरुलाई तलब र भत्ताले जिबन धान्न धौधौ हुन्छ । तबसम्म त्यो देशको विकास हुँदैन । सरकारले यो कुरा बुझ्नु पर्छ । हामीलाई विश्वास छ यो सरकारले हाम्रो कुरा बुझ्ने छ ।


पुष्प दुलाल