अन्तर बैंक कारोबार ३२ प्रतिशतले बढ्यो, ब्याजदर साढे ७ प्रतिशत



काठमाडौं । एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबार ३२ प्रतिशतले बढेको छ । लगानी योग्य पुँजीको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर गर्जो टार्दै आएका छन् ।

अन्तर बैंक कारोबार बढेपछि ब्याजदर पनि लगातार बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार २०७५ साउन १ गतेदेखि चैत ३० गतेसम्म वाणिज्य बैंकहरुले ११ खर्ब ६५ अर्ब रुपैयाँ अन्तर बैंक सापटी कारोबार गरेका छन् । जबकी ०७४ साउन १ गतेदेखि ०७४ चैत ३० गतेसम्म बैंकहरुले जम्मा ८ खर्ब ८२ अर्ब रुपैयाँ मात्रै अन्तर बैंक सापटी कारोबार गरेका थिए ।

गत आर्थिक वर्षको ९ महिनामा भएको अन्तर बैंक कारोबार भन्दो चालू आर्थिक वर्षमा बैंकहरुबीच भएको अन्तर बैंक कारोबार रकममा २ खर्ब ८२ अर्ब रुपैयाँले बढी हो भने प्रतिशतमा ३२ प्रतिशतले बढी हो ।

यो वर्षको ९ महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले १ खर्ब ९९ अर्ब ३३ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन् । जबकी गत वर्षको ९ महिनामा यस्तो कारोबार २७ अर्ब ४१ करोड रुपैयाँ मात्रै थियो ।

राष्ट्र बैंकले गत मंसिरमा अन्तर बैंक सापटी लिएर पनि कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न पाउने सुविधा गरेपछि यस्तो कारोबार अझ बढेको बैंकरहरु बताउँछन् ।

कारोबार बढेसँगै ब्याजदर पनि निकै उच्च भएको छ । ०७६ जेठ ९ गतेको अन्तर बैंक कारोबारको ब्याजदर ७.५२ प्रतिशत पुगेको छ । अन्तर बैंक कारोबारको बढ्दो ब्याजदरले बजारमा तरलता अभाव भएको प्रष्ट संकेत गर्छ ।

०७४ चैतमा ४.१२ प्रतिशत र ०७५ असारमा २.९६ प्रतिशत रहेको अन्तर बैंक कारोबारको ब्याजदर ०७५ चैतमा ५.२८ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु