महालक्ष्मी विकास बैंकले गर्यो नागरिक अभिनन्दन




काठमाडौं । महालक्ष्मी विकास बैंकले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव सफलता पूर्वक सम्पन्न गरेको छ । दरबारमार्ग, काठमाडौँ स्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरि दिएकोमा विशेष धन्यवाद दिनुका साथै प्रहरीहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।

बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशी ज्यूलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले उक्त समारोहमा संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा युगान्तसम्म सत्यमोहन जोशीले गरेकोे अनुकरणीय योगदानको कदर गर्दै उनलाई सम्मान—पत्र तथा एक लाख रुपैंयाको चेक हस्तान्तरण गरी अभिनन्दन गरेका थिए ।


क्लिकमान्डु