समिर शेखर बज्राचार्यले गण्डकी छाड्ने, अब मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ हुने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले भद्र बैंकर समिर शेखर बज्राचार्यलाई डेपुटी सीइओमा नियुक्त गर्ने भएको छ ।

बैंक व्यवस्थापनले बज्राचार्यलाई डेपुटी सीइओको अफर लेटर दिइसकेको छ, उनले अफर लेटर बुझिसकेका छन् ।

‘बैंक सञ्चालक समितिले बज्राचार्यजीलाई नियुक्ति गर्ने निर्णय गरेर अफर लेटर दिएको हो,’ एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘अब उनी जुनदिन कार्यालय आउँछन्, त्यसैदिन नियुक्ति पत्र दिइने छ ।’

बज्राचार्य र बैंकबीच भएको सहमति अनुसार उनी जेठ १ गतेदेखि काम गर्ने सहमति भएको छ । तर, केही प्रावधिक कारणले अझै केहीहप्ता लम्बिन सक्ने बताइएको छ ।

प्राविधिक कारण भनेको उनलाई गण्डकी विकास बैंक छोड्न समस्या हो । उनी गण्डकीका पनि डेपुटी सीइओ हुन् ।

गण्डकीमा उनले पदबाट राजिनामा दिइसकेका बज्राचार्य काठमाडौंको बानेश्वर ब्राञ्चमा कार्यरत छन् ।

‘केही हप्तामै समिरजी मुक्तिनाथमा हाजिर हुनुहुन्छ,’ मुक्तिनाथ विकास बैंक स्रोतले भन्यो ।

दुई दशकअघि पोखरा फाइनान्सबाट बैंकिङ करियर शुरु गरेका बज्राचार्य तत्कालीन विश्व विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर काम गरिसकेका व्यक्ति हुन् ।

पाल्पामा जन्मिएका उनले पोखरालाई कर्मक्षेत्र बाएका थिए । केही वर्षयतादेखि उनी काठमाडौं बस्छन् ।

विश्व विकास बैंक फेवा फाइनान्ससँग मर्ज भएपछि डेपुटी सीइओ र फेवा फाइनान्स गण्डकी विकास बैंकमा मर्ज भएपछि बज्राचार्य डेपुटी सीइओको रुपमा कार्यरत थिए । उनीसँग विदेशी संस्थामा केही वर्ष काम गरेको पनि अनुभव छ ।

बैंकको इन्टरनल अपरेशनमा विशेष दख्खल राख्ने बज्राचार्यलाई भद्र बैंकरको रुपमा लिइन्छ ।

एक नम्बरको मुक्तिनाथ विकास बैंकले उच्च व्यवस्थापनको टिम बढाइरहेको छ ।

संस्थापक सीइओ भरतराज ढकालले छाडेपछि प्रधुम्न पोखरेल बैंकको सीइओको रुपमा कार्यरत छन् ।

बैंकलाई अझै शशक्त बनाउन उनले टिम विस्तार गरेका हुन् । तिलबहादुर गुरुङ र गोविन्द बहादुर राउत एसिस्टेन्ट डेपुटी सीइओ छन् ।

बज्राचार्य बैंक व्यवस्थापनको सेकेन्ड म्यान भएर आउन लागेका हुन् ।


पुष्प दुलाल