प्राइमसँग मर्ज नभएको ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्ज हुने, आज सम्झौता



काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन् । प्राइम बैंकसँगको एक्विजिसन भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्जरमा जाने भएको हो ।

आज (बिहीबार) दिउँदो साढे ३ बजे मर्जरमा जाने सैद्दान्तिक समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा एनएमबिका अध्यक्ष पवनकुमार गोल्यान र ओमका अध्यक्ष शुशीलकुमार गोसलीले समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

ओमकातर्फबाट अध्यक्षसहित ५ जना सञ्चालक, सीइओ, डेपुटी सीइओ र एजिएम मर्जर सम्बन्धी सम्झौता हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आइसकेका छन् ।

‘दुई बैंकबीच मर्जरमा जानका लागि आज हस्ताक्षर हुँदैछ,’ स्रोतले भन्यो, ‘९५ प्रतिशत कुरा मिलिसकेका छन्, कर्मचारी समायोजन लगायतका विषयमा ५ प्रतिशत मात्रै कुराा मिल्न बाँकी छ ।’

प्रिडिडिए अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ७० भन्दा माथि र ८० प्रतिशत भन्दा कम छ । तर, फुल डिडिए गरेपछि १० प्रतिशत थपघट गर्न सकिने सहमति छ ।

मर्जपछि बन्ने बैंकको नाफा एनएमबि नै राख्ने सहमति भएको छ ।

गत भदौ ३ गते ओम र प्राइम बैंकबीच एक्विनिसन सम्झौत भएको थियो । तर, कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि प्रक्रिया भाँडिएको हो । प्राइम र ओमलाई राष्ट्र बैंकले डिमर्जको स्वीकृति दिइसकेको छ ।

प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही

तर, राष्ट्र बैंकले ३ महिनाभित्र अरु कुनै संस्थासँग मर्जरमा जान प्राइम र ओम बैंकलाई अल्टिमेटम दिएको थियो । ३ महिनाभित्र मर्जर वा एक्वायरमा नगए दुबैकका सञ्चालकलाई सचेत गराउने, शाखा खोल्न नदिने, आधारभूत सेयर ट्रान्सफर रोक्ने चेतावनी दिएको थियो ।
तत्कालका लागि भने राष्ट्र बैंकले बैंकहरुलाई उपलब्ध गराउने पुनःकर्जाको सुविधा मात्रै रोकेको थियो ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

एनएमबिसँग मर्जरमा जाने सम्झौता भएसँगै ओम डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीबाट जोगिएको छ । यसले प्राइमलाई थप दबाब सिर्जना गरेको छ । यद्यपि प्राइमले पनि चाँडै अर्को संस्थासँग मर्जर वा एक्वायरमा जाने सम्झौता गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दियो ।

कुनको अवस्था के छ ?

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको भन्दा १९.९३ प्रतिशतले बढेको छ । बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको छ । चैतसम्ममा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरी ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको बैैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३४ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १५ करोड १२ लाख १ हजार रुपैयाँ रहेको छ ।

२४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले लगानीकर्ताहरुलाई १२.७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।


पुष्प दुलाल