सिभिल बैंकको संचालकमा इच्छाराज दोहरिए, प्रतापजंग पाण्डेको इन्ट्री
काठमाडौं । सिभिल बैंकको संचालक समितिको सदस्यमा इच्छाराज तामाङ फेरि पनि दोहोरिएका छन् । तामाङ यसअघि पनि बैंकको अध्यक्ष थिए ।
शुक्रबार भएको बैंकको सातौं र आठौं साधारणसभाबाट तामाङसहित प्रवद्र्धक समूहबाट सञ्चालकमा प्रतापजंग पाण्डे र अमिर बोगटी निर्वाचित भएका छन् ।
त्यसैगरी, साधारण सेयरधनीको तर्फबाट योगेश्वर बहादुर मल्ल, प्रकाश तायल र शम्भु पन्त सञ्चालकमा निर्वाचित भएका हुन् ।
सञ्चालकको रुपमा पाण्डेको भने सिभिल बैंकमा इन्ट्री हो । यसअघि उनी आइएमई जनरल इन्स्योरेन्समा संचालक थिए ।
सिभिलमा मर्ज भएको आइएलएफसी फाइनान्समा डिजिएम भएर बैकिङ क्षेत्रमा काम गरेका पाण्डेले मर्जपछि जागिर छाडेका थिए । उनी कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक हुन् ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताब गरेको १०.५ बोनस र ४.०५ प्रतिशत नगद लाभांस पारित गरेको छ । साधारणसभा सम्पन्न भएसँगै बनेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।