नाफा घटाएको नेपाल बैैंकले दुई ठाउँमा विवरण प्रकाशित गर्दा सेयरधनीलाई घाटा



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा नाफा १२.५४ प्रतिशतले घटेर २ अर्ब २४ करोड ५५ लाख ७६ हजार ८४१ रुपैयाँ रहेको छ ।

गत आवको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५६ करोड ७७ लाख २७ हजार ८९२ रुपैयाँ रहेको छ । नाफा घटेको बैंकको वितरण योग्य नाफा १ अर्ब ६२ करोड १६ लाख ९६ हजार ४७९ रुपैयाँ रहेको छ ।

बैंकको नाफाका साथै सञ्चालन मुनाफा पनि घटेको छ । बैंकको सञ्चालन नाफा गत आवको सोहि अवधिको तुलनामा १३.६३ प्रतिशतले घटेर ३ अर्ब १२ करोड ३३ लाख ६२ हजार १८४ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा ३ अर्ब ६१ करोड ६६ लाख ८ हजार ३१९ रुपैयाँ रहेको थियो ।

पर्सनल एक्सपेन्सेस घटेको कारण बैंकको सञ्चालन मुनाफामा गिरावट देखिएको छ । गत आवको सोहि अवधिमा पर्सनल एक्सपेन्सेस २ अर्ब १६ करोड ३२ लाख ३४ हजार ११ रुपैयाँ रहेको थियो । चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा १ अर्ब ८९ करोड ६१ लाख २ हजार ८४४ रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने ३.७३ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा ४ अर्ब ५५ करोड ५१ लाख ७ हजार २३९ रुपैयाँ रहेको बैंकका सञ्चालन मुनाफा चालु आवको सोहि अवधिमा आईपुग्दा ४ अर्ब ७२ करोड ५२ लाख ५५ हजार ३८४ रुपैयाँ पुगेको छ ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १५ अर्ब ६१ करोड १० लाख ५४ हजार ८३६ रुपैयाँ रहेको छ ।

गत आवको तेस्रो त्रैमासमा २.९१ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोहि अवधिमा घटेर २.७१ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ ३०४ रुपैयाँ ४७ पैसा रहेको छ ।

बैंकले नाफा घटेपनि विवरण भने दुईवटा दैनिक पत्रिकामा छापेको छ । बैंकले सरकारी पत्रिका गोरखापत्र र आर्थिक पत्रिका कारोबारमा तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण प्रकाशित गरेको छ ।

नियम अनुसार एउटा राष्ट्रिय दैनिकमा विवरण प्रकाशित गरे पुग्छ । प्रोडक्ट विज्ञापनमा बैंकहरुले आक्रामक प्रचार गरेपछि अपरिस्कृत वित्तीय विवरणमा भने कम खर्च गर्ने गर्छन् । यसको लागि एउटा पत्रिकामा मात्र विवरण प्रकाशित गर्दा हुन्छ । बैंकको ब्यालेन्ससिटको आकारले दुईठाउँमा विवरण प्रकाशित गर्दा ठूलो खर्च त लाग्दैन । तर,यो खर्च घट्दा नाफा सामान्य रुपले बढ्छ । जसको फाइदा सेयरधनीलाई हुन्छ ।


क्लिकमान्डु