भटमास प्रशोधन उद्योग खोल्न पहल शुरु, ५० हजार कृषकले रोजगारी पाउने




काठमाडौ । सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षातको समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो ।

डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा खेती गरिँदै आइएको भटमासलाई आधुनिक खेतीमार्फत उत्पादन बढाई प्रशोधनका लागि उद्योग स्थापना गर्ने अवधारणा अघि सारिएको हो ।

करीव ६० करोड रुपैयाँको लागतमा सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरामै भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि उद्योग खोल्न सकिने अवधारणासहित केही दिनअघि सरोकारवालासँग छलफल गरिएको छ । उद्योग सञ्चालनमा ल्याउन सकिए सके प्रत्यक्ष रुपमा ५० हजार भन्दा बढी कृषकले रोजगार पाउने बताइन्छ । नेकपाका नेता तथा बुद्धिजीवी डा तारा जोशीका अनुुसार १५ करोड रुपैयाँ जनसाधारणबाट शेयर लगानी, २० करोड रुपैयाँ बैंकबाट कृषि ऋण र २५ करोड रुपैयाँ सरकारी अनुदान प्राप्त गर्न सकिए उद्योग सञ्चालनमा आउँछ ।

चौध वटा कृषि फार्म वा सहकारी मार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ५० हजार किसानलाई व्यावसायिक रुपमा भटमास खेतीमा आबद्ध गराई भटमास प्रशोधन उद्योग खोल्दा पर्ने एक हजार भन्दा बढी युवालाई रोजगार सिर्जना गर्न सकिन्छ भने ३५ हजार मेट्रिक टन भटमास र ५ हजार मेट्रिक टन मकैको आपूर्ति गर्न सकिन्छ ।

व्यावसायिक कृषि मार्फत रोजगारीका अवसर प्रदान गर्ने भिजन डडेल्धुराको नीति अनुरुप डडेल्धुरामा भटमास उत्पादन तथा प्रशोधन उद्योगका लागि पहिलो पटक पहलकदमी लिइएको हो । सुदूरपश्चिमका पहाडी जिल्लाबाट हुने बढ्दो आयात कम गर्न भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणको अवधारणा अघि सारिएको हो ।

नेपालकै सबैभन्दा ठूलो कृषि उद्योग स्थापनाका लागि भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणको अवधारणा ल्याइएको तत्कालीन एमाले डडेल्धुराका अध्यक्ष डा जोशीले बताउनुभयो । अध्ययनअनुसार दाल र खाजाका लागि मुख्य बालीका रुपमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा भटमासको उत्पादन गरिन्छ ।

परम्परागत रुपमा भइरहेको भटमास उत्पादन सबैभन्दा कम मूल्यको चामल सँग बिक्री भइरहेको छ । वर्षात्को समयमा मकै सँगै गरिने परम्परागत भटमास उत्पादनको ठूलो हिस्सा सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको छ । स्थानीय बासिन्दाले प्रायः चामल सँग भटमास साट्ने गरेका छन् । थोरै कृषकले मात्रै चामलसँगै अन्य दैनिक खाद्यवस्तु, लत्ताकपडा र अन्य घर खर्च चलाउने गरेका जोशी बताउँछन ।

पोषणका हिसाबले भटमास महत्वपूर्ण अन्न मानिन्छ । गरीबको मासु भनेर पनि चिनिने भटमास उत्पादनतर्फ किसानको आकर्षण बढ्दो छ । व्यावसायिक भन्दा पनि निर्वाहमुखी रुपमा भटमास खेती गरिने भएकाले उत्पादनलाई उल्लेख्य रुपमा बढाउन नसकिएको कृषि विज्ञहरुको भनाइ रहेको छ ।

डडेल्धुरा लगायत पहाडी जिल्लाहरुमा भटमासका लागि उर्बर माटो रहेको भए पनि कृषकहरुलाई यसका बारेमा ज्ञान नहुँदा परम्परागत खेतीमै सीमित रहेका कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए । कृषकलाईृ भटमासका बारेमा प्रशिक्षण दिई उत्पादन बढाउन सकिने विष्टको भनाइ रहेको छ ।

बसाइसराईका कारण मध्य पहाडी भेगमा अधिकाँश खेतीयोग्य जमीन बाँझो रहेको छ । बाँझो जमीनलाई उपयोग गर्न कृषि उत्पादनको विकल्प खोज्न लागिएको हो । कृषि उत्पादन मार्फत रोजगारीका अवसर सिर्जना गर्न खेतीयोग्य बाँझो जमीनको खोजी गरी उत्पादन छनौट गर्न लागेको सरोकारवालाले जनाएका छन । परम्परागत रुपमा गरिँदै आइएको कृषिलाई आधुनिक प्रविधि मार्फत व्यावसायिक रुपमा खेती गर्न अध्ययन थालिएको छ ।

भटमासबाट विभिन्न खाद्य वस्तु उत्पादन गर्न सकिन्छ । यससँग सम्बन्धित कृषक र व्यवसायीहरुसँगको सहकार्यमा राज्यले भटमासको उत्पादन र प्रशोधन गर्ने योजना निर्माण गर्नुुपर्ने वरिष्ठ पत्रकार डिआर पन्त बताउनुहुन्छ । उत्पादनकर्तालाई सहुलियत प्रदान गरी भटमास खेती प्रवद्र्धन गरिए प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै युवाका लागि रोजगारी सिर्जना हुनसक्छ ।

भटमासबाट हरियो बिन, सोयाबिन, तेल, दूध, टोफु, कुखुरा दाना र ह्याचरी उत्पादन गरी बजारीकरण गर्न सकिए यो देशकै सबैभन्दा ठूलो कृषि उद्योग बन्ने बताइन्छ । यसले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउँछ र कृषकलाई पनि उचित मूल्य दिलाउँछ । उद्योग सञ्चालनका लागि डोटीको जोरायल गाउँपालिकाको गैरामा ५०० रोपनी जमीनमा भटमास खेती गर्ने प्रक्रिया अघि बढाइएको छ । यससँगै जोरायल क्षेत्र र वी पी नगर क्षेत्रमा उपयुक्त जमीन छनोटको काम भइरहेको जोशीले बताउनुभयो । अन्य पहाडी जिल्ला बैतडी, बझाङ्ग, दार्चुला, अछाम, कालीकोट, सुर्खेत र अन्य भटमास हुने जिल्लामा पनि उद्योग स्थापनाका लागि छलफल गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशले भटमासको व्यावसायिक उत्पादनका लागि डडेल्धुरालाई पकेट क्षेत्र घोषणा गरी कार्यालय स्थापना गर्न लागिएको छ । रासस


क्लिकमान्डु