नेपालको पहिलो भूउपग्रह सफलतापूर्वक प्रक्षेपण



काठमाडौ । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ ।

नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार भूउपग्रह अहिले आकासमा पुगेको र भोलि बिहान ३ः३० बजे आइएसएस डकिङ ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ मा जोडिनेछ ।

संयुक्त राष्ट्र सङ्घको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा)मा दर्ताको परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताए ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक( बाट स्पेस टेक्नोलोजीमा इञ्जिनीयरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट अघि बढेको नास्टले जनाएको छ ।

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरेको छ । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्युबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ राखिएको छ । RSS


क्लिकमान्डु