फाइव जी प्रणालीमा जाने सरकारको तयारी रहेको संचारमन्त्री बास्कोटाको घोषणा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उनले सरकार सूचना प्रविधिमैत्री नेपाल(डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताए ।
उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, “पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।”

हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताए । मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उनले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गरे ।

उनले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराए । “समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको उल्लेख गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।

विश्वका १७० भन्दा बढी देशमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत सो कम्पनीले नेपालमा सन् १९९९ देखि कार्यरत छ । कम्पनीले पछिल्लो समय सूचना प्रविधि, मोबाइलका क्षेत्रमा गरेका काम प्रदर्शनीमा रहेका छन् । सम्मेलन चार दिनसम्म रहने छ । नेपालस्थित हुवावे कम्पनीका कार्यकारी अधिकृत देनि देङले डिजिटल इकोनोमिमा जोड दिन आग्रह गर्दै कम्पनीका गतिविधिबारे जानकारी गराए । रासस


क्लिकमान्डु