राष्ट्रपति र प्रधानमन्त्रीले गरेको विदेश भ्रमणमा सरकारी कोषबाट सकियो १० करोड रुपैयाँ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विदेश भ्रमणमा ९ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।

फागुन मसान्तसम्ममा राष्ट्रपति प्रधानमन्त्री सहित भिआईपीले गरेको विदेश भ्रमणमा १२ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ ।

जसमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले गरेको विदेश भ्रमणमा मात्र ९ करोड ४० लाख रुपैयाँ खर्च भएको हो ।

राष्ट्रपति भण्डारीले हालै मात्र सयुक्त राष्ट्रसंघ अन्तर्गत महिला सम्बन्धि कार्यक्रममा अमेरिका भ्रमणको खर्च भने यसमा जोडिएको छैन ।

राष्ट्रपति,प्रधानमन्त्री तथा मन्त्री सहित उच्च सरकारी अधिकारीले गरेको विदेश भ्रमणबाट फागुन मसान्तसम्ममा १२ करोड ४७ लाख रुपैयाँ सकिएको छ ।

कुल भिआईपीको भ्रमण खर्चमा राष्ट्रपति र प्रधानमन्त्रीले भ्रमण गर्दा लागेको खर्चको हिस्सा ७५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सो बराबरको रकम खर्च भएको हो ।
अर्थमन्त्रालयका अनुसार भिआईपी भ्रमणमा सबैभन्दा बढी खर्च प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा खर्च भएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर कोष्टारिकाको भ्रमणमा गएका थिए । त्यो भ्रमणमा ४ करोड ३७ लाख रुपैयाँ राज्यकोषबाट खर्च भएको छ ।

यस्तै प्रधानमन्त्री स्वीजरल्याण्डको डाबोसमा जादा १ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जादा २ करोड रुपैयाँ राज्यकोषबाट खर्च भएको छ । कतार भ्रमणमा जादा १ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

सरकारी निर्णय अनुसार विदेश भ्रमणमा जादा त्यसको लागत सरकारले बेहोर्ने गर्छ । अर्थमन्त्रालयले यसको लागि पैसा निकासा गर्ने गरेको छ ।


क्लिकमान्डु