जानकारहरु भन्छन्- अमर्यादित लगानीकर्ता, नियामक बन्न नसकेको धितोपत्र बोर्डको नेतृत्व



काठमाडौं । कुनै सरकारी वा निजी क्षेत्र कस्तो छ, त्यो क्षेत्रले आगामी दिनमा कसरी काम गर्छ ? त्यस क्षेत्रसँग सम्बन्धित संघ संस्थालाई कसरी अघि बढेका छन वा बढछन् भन्ने विषयमा नियमनकारी निकाय हेरेर धेरै थाहा पाउन सकिन्छ ।

नेपालमा भएका धेरै निकायमध्ये यतिबेला निकै चर्चामा छ सेयर बजारको सबैभन्दा माथिल्लो निकाय हो धितोपत्र बोर्ड ।

यसले सेयर बजारका लागि आवश्यक ऐन नियम निर्माण गर्ने, सेयर बजारको नियमन गर्ने, उनीहरुलाई कुनै समस्या परेको खण्डमा सहजिकरण गरिदिने सम्मको काम गर्नु पर्दछ । र, यो निकाय अन्यभन्दा धेरै संवेदनशिल पनि छ ।

तर लामो समयदेखि धितोपत्र बोर्डको विरुद्धमा सरोकारवालाहरु खनिइरहेका छन् । यसलाई धितोपत्र बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक लगायतका उच्च अधिकारीहरुले अमर्यादित भनेर सार्वजानिकरुमै टिक्का टिप्पणी गरेका छन् ।

अर्कातिर लगानीकर्ताहरुले भने धितोपत्र बोर्डको नेतृत्व नै अमर्यादित र भ्रष्ट भएको आरोप लगाएका छन् ।

लगानीकर्ताहरुले बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको राजिनामा माग्नेदेखि अर्थमन्त्री डा. युवराज खतिवडाको त राजिनामा हुँदै बर्खास्ती गर्न समेत माग गरिरहेका छन् ।

राजिनामाले समस्याको समाधान नगर्ने, अझ नेप्सेका अधिकारीको राजिनामा माग्नु भने कुनै पनि तर्क नै नरहेको केही लगानीकर्ता तथा बजारको जानकारहरु बताउँछन् ।

रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

यतिबेला नेप्से बजार सञ्चालन र माथिल्लो निकायको ‘हस्’ पात्र मात्र भएको जानकारहरुको बुझाई छ ।

बजारको हिस्सेदार लगानीकर्ता आफैं भएकोले उछृङखल गतिविधि गर्नु भन्दा पनि छलफल गरेर समस्याको समाधान खोज्नु विकल्प छैन । यस्तै नियमनकारी निकाय पनि आफू सुप्रिम बन्ने काम पनि त्याग्नुपर्ने हुन्छ ।

तर अहिलेको अवस्थाले सेयर बजार जस्तो संवेदनशिल क्षेत्र कुन अवस्थामा छन भन्ने थाहा पाउनका लागि त्यतिधेरै समस्या नपर्ने जानकारहरुको भनाई छ ।

केहीले लगानीकर्ताहरुले गरेको आन्दोलनलाई राजनीतिको रंगको रुपमा पनि हेरेका छन भने केहीले नियमनकारी निकाय कमजोर हुँदा विविध समस्या सिर्जना भएको र लगानीकर्ताहरुले आफ्नो समस्या अरुको टाउकोमा थोपर्ने काम गरेको भन्ने चर्चा पनि चलिरहेकै छ ।
यसै विषयमा केन्द्रीत रहेर सेयर बजारका केही जानकार व्यक्तिहरुसँग हामीले कुरा गरेका छौंः

सेयर बजारको समस्या समाधान गर्न धितोपत्र बोर्डले अहिलेसम्म के गर्यो, अब के गर्दैछ ? (सूचिसहित)

सेयर बजारका जानकार नीरव पुडासैनी लगानीकर्ताहरुले गरेको आन्दोलनको कारणबारे अझै प्रष्ट हुन नसकेको तर्क गर्छन् ।

‘सेयर बजारको अंक तलमाथि कै लागि यो आन्दोलन हो भने एकदमै गलत काम हो,’ पुडासैनीले क्लिकमाण्डूसँग भने ।

अहिले लगानीकर्ताहरुले अर्थमन्त्रीको राजिनामा समेत मागिरहेका छन् । अर्थमन्त्री समग्र अर्थतन्त्र बुझेको मान्छे भएकाले मन्त्रीको राजीनामा आउनासाथ बजार बढने कुनै ग्यारेन्टी नभएको उनको तर्क छ ।

अध्यक्ष कार्कीले कुनै पनि निर्णय गर्दा हडबडमा नगर्ने, लगानीकर्तालाई गालीगलौज गर्दै नहिँड्ने, सबै कर्मचारीलाई समान व्यवहार गर्ने र बोल्दा आवेगमा आएर नबोल्ने हो भने आफ्नो कार्यकालमा स्वर्ण अक्षरले लेखिने थियो ।

‘अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव छ, विदेशी लगानी आएको छैन, बेरोजगारी दर बढेको बढ्यै छ,’ पुडासैनी प्रश्न गर्छन्- ‘सबैतिर संकट भएको समयमा बजार कसरी बढ्छ ?’ लगानीकर्ताले आफ्नो लगानी बचाउन मात्रै आन्दोलन गरेको हो भने त्यसलाई सफ्ट कर्नरबाट हेर्न सकिने उनको तर्क छ ।

अहिले लगानीकर्ताले अनलाइनको नाममा निकै सास्ती पाएका छन् । विगत २ वर्षदेखि अनलाइनको निकै चर्चा चलिरहेको छ ।

पुडासैनी भन्छन् ‘नेप्सेले गृहकार्य नै नगरी अनलाइन ल्याइयो, यो ल्याउनु भन्दा पहिला कम्तिमा पनि ६ महिना डेमोको अभ्यास गराउनु पर्ने हो, त्यो नै नगरी आफ्नो पालामा कसरी ल्याउने भन्ने प्रतिष्पर्धाले समस्या आएको हो, लगानीकर्ताले नेप्से, बोर्डमा विरोध गर्ने हो भने यसको विरोध गर्नु राम्रो हो ।’

अनलाइनमा देखिएको समस्याको बारेमा बरु वाईको कम्पनीसँग खास कुरा के हो, त्यो माग्नुपर्ने हो, अहिले वाईकोले अहिले अहमता बढी देखाएकाले समस्या देखिएको उनको तर्क छ । यतिबेला बोर्ड मै हुँ भन्ने कसैलाई नटेर्ने, नेप्सको पनि अहमता बढेकोले समस्या देखिएको उनको तर्क छ ।

अर्का सेयर बजारका जानकार अनलराज भट्टराई यतिबेला बजारबाट लगानीकर्ताको पैसा उडेर गएको तर्क गर्छन् । पैसा उडेकै कारण लगानीकर्तामा निरास छाएको भट्टराईको बुझाई छ । यतिबेला बजार डुबेको छ, डुबेको समयमा राज्य, नियामक निकायले डुङगा पठाएर उद्वार नगरे भावी दिनमा समस्या हुने उनको बुझाई छ ।

भट्टराई भन्छन्, ‘डुब्ने वित्तिकै उद्वार गरिएन भने भएका पनि डुब्न सक्छन्, त्यसमा समयमा नै चासो दिन आवश्यक छ,’ उनले भने । अहिलेको अवस्थामा सरकारले पुँजी बजारको आवश्यकता महशुस गर्दै अन्तर्राष्ट्रिय अभ्यास बुझेर, आवश्यक नीति बनाएर अघि बढ्नु पर्ने समयमा जनताको सम्पतिकै मूल्याङकन नभएको भट्टराईको बुझाई छ ।

बजारको विकास लागि सेयर खरिद गर्ने र बिक्री गर्ने दुवै चाहिने भएपनि अहिले अहिले बजारमा सेयरको संख्या झण्डै ३ गुणाले बढेको र लगानीकर्ताको संख्या बढन नसकेको उनको तर्क छ । बजारको विकास हुनको लागि पहिला नियामक निकायको भावना शुद्ध र प्रष्ट हुन आवश्यक रहेको भट्टराईले बताए ।

‘बजारको हित चाहने नियामक छ भने उसले गर्ने सबै काम बजार मैत्री हुन आवश्यक छ’ उनले भने ‘नियमनकारी निकायको भावना राम्रो बनाउन, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डको भावना एकै हुनुपर्छ र त्यही अनुसार अघि बढनुपर्छ ।’

अहिले लगानीकर्ता लगायतले नियामकलाई गरेको गालीले समस्याको हुनेमा भट्टराई सहमत भने छैनन् । उनी भन्छन्, ‘अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, लगानीकर्ता बसेर छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ, विरोध र आन्दोलनबाट हैन ।’

यसअघि पनि बजारमा देखिएका समस्याको समाधान गर्न समिति बनेको स्मरण गर्दै भट्टराई भन्छन्, ‘समस्याको दिर्घकालीन समाधान खोन्नुपर्छ, त्यसको लागि एउटा कमिटि बन्यो भनेर चुप लागेर मात्रै पनि पुग्दैन, आवश्यकता अनुसार समिति बनाएर काम गर्नुपर्छ ।’

स्वतन्त्र मुलुकमा लगानीकर्ताहरुले आफ्नो राय राख्न पाइने भएपनि सीधै कसैलाई पनि आरोप प्रत्यारोप गर्ने तहबाट जानु अनुचित हुने भट्टराईको तर्क छ ।

यता बोर्डको काम र बोर्ड नेतृत्वप्रति लगानीकर्ताहरु मात्र हैन त्यहाँका कर्मचारीहरु नै सन्तुष्ट भने छैनन् । अहिले बोर्डमा देखिएको कमजोरीको कारण लगानीकर्ताहरुले आन्दोलन, तालाबन्दी जस्ता कार्यक्रमहरु गर्न बाध्य भएको बताउँछन् ।

बोर्ड निकट स्रोतका अनुसार १८८१ मा सेयर किनेका लगानीकर्ताहरुले अहिले ४० प्रतिशत क्षति व्यहोरेका छन् । त्यही समयमा प्यान लगाउने, पुँजीगत लाभकर ५० प्रतिशत बढाउने काम गर्न नहुने ती कर्मचारीको तर्क छ । बजारमा संस्थागत लगानीकर्ता नभएको समयमा यस्ता विषयले बजारलाई प्यानिक बनाउन सहयोग गरेको उनको भनाई छ ।

प्यान लगाउने विषय आन्तरिक राजश्व विभागको भएपनि सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड भएकोले कुन समयमा प्यान लगाउन हुने कुन समयमा नहुने भन्ने तार्किक राय बोर्डले दिएको भए अहिले प्यानको विषयले चर्चा नपाउने उनको भनाई छ ।

सेयर बजार फर्मल इकोनोमी भएकोले करोडौं राजश्व उठेको समयमा प्यानको चर्चा आएसँगै बोर्डले अहिलेको बजारको परिस्थितिको बारेमा सम्बन्धित निकायलाई जानकारी गराएर, केही समयका लागि स्थगन मात्र गरेको भएपनि बजारमा त्यसको असर कम देखिने उनको तर्क छ ।

कतिपय गर्नै पर्ने निर्णय पनि गलत समयमा गरिएको खण्डमा सबैले बोर्डको जस्तै हालत व्यहोर्नुपर्ने ती कर्मचारीले बताए ।

यो बेला बोर्डले माग बढाउने खालको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा बढी जोड दिनुपर्ने थियो, त्यो हुन नसकेको ती अधिकारीको भनाई छ ।

उनी भन्छन्, ‘हाम्रो अध्यक्षज्यूको मनमा पाप छैन, उहाँ लोभ पाप नभएको नेतृत्वकर्ता हो, उहाँ बोर्डमा अध्यक्ष भएर आएपछि पुँजी बजारको विकासका लागि धेरै काम गर्नु भएको छ, उहाँ नआएको भए सायद ७७ वटै जिल्लामा सेयर कारोबार हुने पनि थिएन, अहिले हाम्रो कार्की सरकै कारण जानेर होस् या अन्जानमा धेरै मानिस पुँजी बजारमा आएका छन्, यो पुँजी बजारको लागि ऐतिहासिक काम हो, तर अहिले उहाँलाई केही उहाँकै आसेपासेहरुले सिध्याए, त्यो उहाँले बुझनु भएको छैन, त्यो उहाँको कमजोरी भएको छ ।’

ती कर्मचारीका अनुसार अध्यक्ष कार्कीले कुनै पनि निर्णय गर्दा हडबडमा नगर्ने, लगानीकर्तालाई गालीगलौज गर्दै नहिँड्ने, सबै कर्मचारीलाई समान व्यवहार गर्ने र बोल्दा आवेगमा आएर नबोल्ने हो भने आफ्नो कार्यकालमा स्वर्ण अक्षरले लेखिने थियो ।


पुष्प दुलाल