स्विटजरल्याण्डद्वारा करीब १५ अर्ब सहयोगको घोषणा

301
Shares

काठमाडौं । स्विटजरल्याण्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन १४ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

समावेशी सङ्घीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप्रवासन, लैङ्गिक समानता, सामाजिक समावेशिता, विपद् जोखिम घटाउनेलगायत कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम प्रदान गर्ने घोषणा भएको हो ।

स्विस विकास सहयोग नियोग (एसडिसी) ले नेपालको विकास प्रयासमा साझेदारी गरेको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका एसडिसीका महानिर्देशक म्यानुएल सागरले आज ललितपुरमा सञ्चारकर्मीमाझ सन् २०१८–२०२१ का निम्ति उक्त रकम नेपाललाई उपलब्ध गराइने बताए ।

‘विकासको मूल प्रवाहमा समाहित नभएका तथा पिछडिएका महिलावर्गको आर्थिक–सामाजिक विकास र उद्यमशीलता प्रवद्र्धनमा हाम्रो सहयोग केन्द्रित छ,’ २४ वर्षमुनिका नेपालका उत्पादनशील युवा पुस्तालाई नयाँ नेपाल निर्माणमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

पाँच दिवसीय नेपाल बसाइका क्रममा आफूले स्विस सहयोगमा रामेछापमा सञ्चालित विकासका परियोजनाबारे जानकारी लिएको तथा अर्थमन्त्री, परराष्ट्र सचिव, नेपालको विकासका साझेदारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीलाई भेटेर शान्ति, स्थायित्व, मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा स्विटजरल्याण्डले नेपालसँग साझेदारी गरिरहने जानकारी उनले दिए ।

नेपालका लागि स्विटरल्याण्डका राजदूत एलिजावेथ फ कपेलरले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता विकासका निम्ति गरेको थालनीको सराहना गर्दै त्यसमा स्विटजरल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।