भारतमा सबैभन्दा सस्तो इन्टनरेट नेपालमा कहिले ?



काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पछिल्लो दिनमा भारतले लोभलाग्दो प्रगति गरेको छ । दक्षिण एशियाको आधारमा मूल्यांकन गर्ने हो भने भारत सूचना प्रविधिको क्षेत्रमा एक नम्बरमा रहेको छ ।

भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ । इन्टरनेटको मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ ।

तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन । अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन ।

वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ । तर त्यो सधैँका लागि नहुन पनि सक्छ । केही भन्छन– मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ । लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना तीनदेखि चार कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्छन ।

त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन । सबैतिर वाईफाई निःशुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन । दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन ।

असीमित निःशुल्क कलका लागि उनी प्रत्येक महिना तीन डलरभन्दा कम तिर्छन । त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन्। त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवम् साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन् । त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ ।

यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो । दुई वर्षिभत्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता छन् । उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ। यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ ।

भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन् ।

एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन् । मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन्। देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्‍यो। त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखिएको छ ।

दिल्लीमा काम गर्ने अर्का चालक कलिपदा सस्मलले जियोको सेवा लिने विचार गरे। तर उनले प्रयोग गर्ने एयरटेलले प्रतिमहिना छ डलरमा ४० जीबी डेटा, बचेको डेटा अर्को महिना प्रयोग गर्न मिल्ने र एक वर्षका लागि एमेजन प्राइमको भिडिओ सेवा दिने भयो। त्यसपछि उनी एयरटेलमै अडिग भए ।

हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन्। तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ।

भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ। भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ । बिबिसीबाट


क्लिकमान्डु