सर्बोत्तम सिमेन्टले ४० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने



काठमाडौं । सर्बोत्तम सिमेन्टले सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । सिमेन्टले ४० करोड रुपैयाँ बरारको आइपिओ निष्काशन गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । त्यसको १० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनको प्रक्रिया शुरु गरिएको कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।

‘हामी आइपिओ जारी गर्ने आन्तरिक तयारी गरिरहेका छौं,’ न्यौपानेले क्लिकमाण्डूसँग भने, ‘आन्तरिक तयारी सकिएपछि धितोपत्र बोर्डमा आवेदन दिन्छौं ।’

आइपिओ जारी गर्नका लागि कम्पनी ३ वर्षदेखि लगातार नाफामा गएको हुनुपर्छ ।

‘सर्बोत्तम सिमेन्ट लगातार ३ वर्षदेखि नाफामै छ,’ उनले भने, ‘हामी क्यापिटल मार्केटवालासँग बसेर छलफल गरिरहेका छौं,’ उनले भने ।

कति मूल्यमा आइपिओ जारी गर्ने भन्ने विषयमा टुंगो नलागिसकेको उनले बताए ।

‘प्रिमियममै ल्याउने तयारी भइरहेको छ, कति मूल्य प्रिमियम राख्ने भन्ने पछि नै टुंगो लाग्छ,’ न्यौपानले भने, ‘अहिलेलाई यत्ति बुझ्नुहोस् सर्बोत्तम सिमेन्टको आइपिओ आउँछ ।’

सर्बोत्तम सिमेन्ट सौरभ ग्रुपको उत्पादन हो । यो ग्रुपले स्टील तथा डण्डी उद्योगमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी थप्ने भएको छ । सर्वोत्तम ब्राण्डमा नयाँ डन्डी बजारमा ल्याउन लागेको हो ।


पुष्प दुलाल